विराटनगर, असोज १० – विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सूर्य उपासना तथा प्रकृतिप्रतिको श्रद्धा व्यक्त गर्ने पर्व छठको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायप्रति शुभकामना व्यक्त गरेका छन् । उनले यो पर्वलाई श्रम, शुद्धता, समर्पण र सहअस्तित्वको प्रतीकका रूपमा वर्णन गरेका छन् ।

मेयर कोइरालाले छठलाई साझा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको पर्वका रूपमा उल्लेख गर्दै यसले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक सहकार्यलाई बलियो बनाउने बताए ।

उनका अनुसार, “अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने छठको विधि केवल धार्मिक आस्था मात्र होइन, प्रकृतिप्रतिको कृतज्ञता र पर्यावरणीय सन्तुलनप्रतिको सम्मान पनि हो।”

कोइरालाले छठ पर्वले परिवार, छिमेकी र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सामूहिक सौहार्द र सहअस्तित्वको सन्देश दिने बताए । उनले विराटनगरलाई बहु–सांस्कृतिक सहरका रूपमा चित्रण गर्दै छठ पर्वले विविधतामा एकता झल्काउने सुन्दर उदाहरण प्रस्तुत गरेको टिप्पणी गरे ।

उनले छठ पर्वले नेपाली समाजमा धार्मिक आस्था मात्र होइन, सामाजिक सहकार्य र पर्यावरणीय चेतना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे । अन्त्यमा मेयर कोइरालाले छठ मइयाप्रति आराधना गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया