पोखरा। स्थानीय उत्पादनको प्रवर्द्धन, बजार विस्तार र पर्यटन विकासलाई प्राथमिकता दिँदै २२औँ लेखनाथ महोत्सव आयोजना हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २ देखि १३ गतेसम्म पोखरा महानगरपालिका–२७, डाँडाकोनाक तालचोकमा महोत्सव सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नारासहित आयोजना हुन लागेको महोत्सवमा २ लाख ७० हजार दर्शक सहभागी हुने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ।
संघकी अध्यक्ष जानुका पराजुलीले महोत्सवलाई मनोरञ्जन र व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी स्थानीय उत्पादनको बजारीकरण तथा उद्यमशीलता विकासको माध्यम बनाउन खोजिएको बताइन्। स्थानीय कृषि उपज, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्दै आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य रहेको उनको भनाइ छ।
महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाइएको बताए। कृषि, पर्यटन, उद्योग, कला र संस्कृतिसँगै मनोरञ्जनका कार्यक्रमलाई समेटेर महोत्सवलाई लेखनाथ क्षेत्रको साझा उत्सवका रूपमा विकास गर्न खोजिएको उनले बताए।
आयोजकका अनुसार महोत्सवमा यस क्षेत्रका सुन्तला, माछा, मह, कफी, ताजा तरकारी तथा दुग्धजन्य उत्पादनको प्रदर्शनी र बिक्री गरिनेछ। कृषि, पर्यटन तथा उद्योगसम्बन्धी संवाद कार्यक्रम पनि सञ्चालन हुनेछ। अटोमोबाइल, हस्तकला, कृषि तथा पशुजन्य उत्पादन, मेसिनरी, गार्मेन्ट, फुटवेयर, खाद्यान्न, डेरी तथा नेपाली उत्पादनका स्टल रहनेछन्।
सांस्कृतिक कार्यक्रमअन्तर्गत जातीय भेषभूषा तथा झाँकी प्रदर्शन, रत्यौली गीत, विद्यालयस्तरीय नृत्य, साहित्यिक कार्यक्रम, पप कन्सर्ट, लाइभ ब्यान्ड, लोकदोहोरी तथा हास्यव्यङ्ग्य प्रस्तुति रहनेछन्। गौतम बुद्धको प्रतिमा, खाना महोत्सव, बाल उद्यान, बृहत् साइकल र्याली र टिकटक प्रतियोगिता पनि आकर्षणका रूपमा समावेश गरिएका छन्।
महोत्सवका प्रमुख प्रायोजक एग्रो थाई फुड्स प्रालि (म्याक्स टाइगर इनर्जी ड्रिंक्स) का प्रतिनिधि तथा संघका वरिष्ठ उपाध्यक्ष विक्रम कर्माचार्यले महोत्सवले स्थानीय व्यवसाय र उत्पादनको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। यस्ता कार्यक्रमले उद्यमी तथा व्यवसायीलाई बजारसँग जोड्नुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
आयोजकका अनुसार महोत्सवबाट १ करोड ५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च कटाएर करिब २० लाख रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ। उक्त रकम सात तालको संरक्षण तथा प्रवर्द्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गरिनेछ।
संघका प्रथम उपाध्यक्ष गोविन्द बास्तोलाले महोत्सव सफल बनाउन सञ्चारमाध्यम, उद्योगी व्यवसायी, नागरिक समाज, विभिन्न संघसंस्था, कलाकार तथा स्थानीयवासीको सहयोग महत्वपूर्ण हुने भन्दै सबैलाई सहभागिताका लागि आग्रह गरे।
विसं २०५४ साल असार २० गते ८० जना सदस्यबाट स्थापना भएको लेखनाथ उद्योग वाणिज्य संघले २०५९ र २०६० सालमा सुन्तला प्रदर्शनी आयोजना गरेको थियो। २०६१ सालदेखि महोत्सवका रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष २२औँ संस्करणमा प्रवेश गरेको हो।





