नयाँ दिल्ली (भारत), मङ्सिर ७ गते । भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता सुरु भएको छ ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उहाँहरूबिच भेटवार्ता सुरु भएको हो ।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे सहभागी हुनुहुन्छ । भारतीय पक्षबाट विदेशमन्त्री डा एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी हुनुहुन्छ ।

त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई उहाँका भारतीय समकक्षी मोदीले स्वागत गर्नुभएको थियो ।

यसलगतै नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

तपाईको प्रतिक्रिया