रौतहट ७ मंसिर। ‘जय नेपाल’ सम्बोधन नगरेको भन्दै सहकर्मी प्रहरी कर्मचारीलाई फोनमार्फत अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी हवल्दार बुधन महतो निलम्बनमा परेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाको प्रारम्भिक छानबिनपछि आइतबार महतोलाई निलम्बन गरेको हो । उनीविरुद्ध विभागीय कारबाहीसमेत अघि बढाइएको प्रदेश प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत महतोमाथि डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवलाई फोनमा अपमानजनक व्यवहार गरेको आरोप छ । यादवले आफ्नो हराएको छोराको खोजीका लागि सहयोग माग्दा महतोले गालीगलौज गरेको आरोप लगाएका छन् ।
यादवका १७ वर्षीय छोरा चन्दनकुमार छठ पर्व मनाउन घर आएका बेला गौरस्थित घरबाट हराएका थिए । एसईई उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौंमा बस्दै आएका चन्दन दुई दिनअघि घरबाट बेपत्ता भएपछि परिवार चिन्तित बनेको थियो ।
छोराको खोजीका लागि यादवले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा सम्पर्क गरेका थिए । कन्ट्रोल रुमबाट सञ्चार शाखामा जानकारी गराउन भनिएपछि उनले पुनः फोन गरेका थिए ।
त्यसक्रममा सञ्चार शाखामा रहेका महतोले आफूलाई प्रहरी नायब निरीक्षक (सई) बताउँदै ‘जय नेपाल’ नभनेको भन्दै अपमानजनक शब्द प्रयोग गरेको यादवको आरोप छ । फोनमा सईका रूपमा प्रस्तुत भएका व्यक्ति प्रहरी हवल्दार महतो रहेको पछि खुलेको थियो ।
घटनासँग सम्बन्धित अडियो सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै यस विषयले चर्चा पाएको थियो । घटनालाई गम्भीर रूपमा लिँदै मधेश प्रदेश प्रहरी कार्यालयले शनिबार दुवै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएर सोधपुछ गरेको थियो ।
प्रारम्भिक छानबिन र सोधपुछपछि महतोलाई निलम्बन गरिएको हो । उनीमाथि थप विभागीय कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।





