विराटनगर । अग्रज साहित्यकार लक्ष्मी उप्रेतीको कवितासंग्रह ‘जीवनगीत’ले जीवनका विविध पक्षलाई साहित्यिक अभिव्यक्तिमार्फत उजागर गरेको भन्दै विराटनगरमा कृतिमाथि विमर्श गरिएको छ ।

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकार तथा समीक्षकहरूले ‘जीवनगीत’भित्र समेटिएका कविताको विषयवस्तु, भावभूमि र साहित्यिक पक्षमाथि चर्चा गरेका हुन् ।

कार्यक्रममा साहित्यकार तथा समीक्षक दिङ्लाली कान्छो, बाबुराम पोखरेल र निर्मला कोइरालाले कृतिको समीक्षा गर्दै संग्रहमा जीवनवादी चेतना सशक्त रूपमा अभिव्यक्त भएको बताए । उनीहरूले कवितामा राष्ट्रप्रेम, प्रकृतिप्रेम, जीवनप्रतिको आशा, सुशासन, मानवीय संवेदना र पारिवारिक सम्बन्धजस्ता विषयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको उल्लेख गरे ।

समीक्षकहरूका अनुसार ‘जीवनगीत’का कविताले जीवनका सुखदुःख, सामाजिक यथार्थ र मानवीय अनुभूतिलाई समेट्दै सकारात्मक जीवनदृष्टि प्रस्तुत गरेका छन् । विभिन्न विषय र भावलाई कवितात्मक शैलीमा अभिव्यक्त गरिएको कृति जीवन र समाजलाई बुझ्ने साहित्यिक दृष्टिकोणका हिसाबले पनि महत्वपूर्ण रहेको उनीहरूको भनाइ थियो ।

विमर्शसँगै आयोजित कविता वाचनमा कवि प्रतिमा निरौला, सीमा आभास, मधु पोखरेल, हरिप्रसाद बराल, लक्ष्मी पोखरेल र शुभलक्ष्मी लम्सालले संग्रहभित्रका कविता सुनाएका थिए । उनीहरूको वाचनले कार्यक्रममा साहित्यिक माहोल थप जीवन्त बनेको थियो ।

वरिष्ठ कलाकार कुशेश्वर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार विवश पोखरेल, कृतिका लेखक लक्ष्मी उप्रेती, कवि एवं पत्रकार मीनकुमार नवोदित र प्रतिभा पुरस्कार प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईंसहितले कृतिको साहित्यिक महत्वबारे धारणा राख्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको ‘जीवनगीत’मा विभिन्न शीर्षकका ९६ वटा कविता समेटिएका छन् । जीवन, समाज, प्रकृति र मानवीय संवेदनालाई मूल विषय बनाइएको संग्रहले नेपाली कविता साहित्यमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया