काठमाण्डाै – अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा पाकिस्तान शाहीन्सले नेपाललाई १ सय ४५ रनकाे लक्ष्य दिएकाे छ । प्रतियाेगितामा नेपालकाे याे अन्तिम खेल हाे ।

डार्विनमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनायाे । पाकिस्तान शाहीन्सका इरफान खानले नटआउट ४२ रन बनाए । नेपालका साेमपाल कामीले ३, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २/२ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

शृङ्खलामा शुरूका लगातार ३ खेलमा हारेकाे नेपालले चाैथाे खेलमा हाेबर्ट हरिकेन्सलाई हराएकाे थियाे । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ वटा खेल खेल्नेछन् ।

टप इन्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।

तपाईको प्रतिक्रिया