विराटनगर । स्वास्थ्य बीमा बोर्डले चौतर्फि दबाब पछि कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रथम सेवा बिन्दुबाट हटाएर रेफरल अस्पताल मात्रै काम गर्न गरेको निर्णय सच्याएको छ । चौतर्फि विरोधका कारण कोशी र बीपीले अब प्रथम सेवा बिन्दु र रेफरल अस्पतालको रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पाउने भएका हुन् ।

मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीले स्वास्थ्य बीमा बोर्डले गरेको निर्णयप्रति गत सोमबार जनाउनुभएको थियो । प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद मोदीले कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई पहिलो सेवा विन्दुबाट हटाउने निर्णय सच्याउन माग गर्नुभउको थियो ।

यसैगरी नागरिक तह र कोशी तथा वीपी प्रतिष्ठान प्रशासन तथा चिकित्सकहरुले समेत स्वास्थ्य बीमा बोर्डले चौतर्फी विरोध र आलोचना गर्दै आएका थिए । यसपछि बुधबार नै कोशी अस्तपाल र बीपी प्रतिष्ठानलाई पुनः ‘प्रथम सेवा विन्दु’को मान्यता दिइएको । बुधबार कोशी अस्पताललाई पठाइएको पत्रमार्फत बोर्डले अस्पताललाई पुनः पहिलो उपचार केन्द्र ९प्रथम सेवा विन्दु० तथा रिफरल सेन्टरको रूपमा सेवा प्रवाह गर्न अनुमति दिएको हो ।

यो निर्णयसँगै बीमितलाई राहत मिल्ने देखिएको हो । यसैगरी अस्पतालको आम्दानी तथा सेवाप्रवाह प्रणालीमा समेत सहज हुने भएको छ । यसअघि बोर्डले कोशी अस्पताल र वीपी प्रतिष्ठानलाई ‘प्रथम सेवा विन्दु’बाट हटाउने निर्णय गरेको थियो । असार १९ गते जारी निर्णयमा संघीय सरकार मातहत रहेका अस्पतालहरूलाई प्राथमिक सेवा केन्द्रको रुपमा नराखी ‘मात्र रिफरल सेन्टर’ बनाउने उल्लेख गरेर परिपत्र गरिएको थियो ।

बोर्डको निर्णाय विरुद्ध स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी र सर्वसाधारणबाट पनि विरोध भएको थियो । कोशी अस्पतालमा दैनिक सयौं बीमित उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये विराटनगर महानगर क्षेत्रभित्रका मात्र १ लाख १६ हजार ३६० जना नागरिकले स्वास्थ्य बीमा गरेका छन् । ती सबैले कोशी अस्पतालमा नै प्राथमिक उपचार लिने गरेका छन् । बोर्डको निर्णयसँगै अब बीमितहरू पुरानै प्रकृयाअनुसार कोशी अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गत निःशुल्क वा सहुलियतपूर्ण सेवा लिन पाउनेछन् ।

यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०७४ साउन १ गतेदेखि नेपाल सरकार अन्तर्गत सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भई प्रथम सेवा केन्द्र तथा रेफरल सेन्टर दुवैको रुपमा सेवा प्रदान गर्दै आएको सेवा समेत कायम भएको छ ।

तपाईको प्रतिक्रिया