काठमाडौं । हिरासतमा रहेकी बिचौलिया इनम सापकोटासँग प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित नेपाल प्रहरीको उच्च नेतृत्वलाई जोडेर विभिन्न माध्यमबाट सार्वजनिक भइरहेका विषयप्रति नेपाल प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेको छ।
नेपाल प्रहरीले संगठनको नेतृत्वलाई जोडेर सार्वजनिक भएका विषय भ्रमपूर्ण र झुटा रहेको दाबी गर्दै त्यस्ता प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सुरक्षा संगठनलाई विवादमा तानेर प्रहरीको संस्थागत प्रतिष्ठा कमजोर बनाउने र त्यसैलाई आधार बनाएर सरकारविरुद्ध वातावरण सिर्जना गर्ने प्रयास भइरहेको प्रहरीको आरोप छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले बिहीबार विज्ञप्ति जारी गर्दै संगठनलाई कमजोर बनाउने उद्देश्यले केही व्यक्तिले विभिन्न किसिमका चालबाजी गरिरहेको दाबी गरेका छन्।
विज्ञप्तिमा प्रहरी संगठनको नेतृत्वलाई अनावश्यक रूपमा विवादमा तान्ने, भ्रमपूर्ण सूचना प्रवाह गर्ने तथा सुरक्षा निकायको विश्वसनीयतामाथि प्रश्न उठाउने गतिविधिप्रति संगठन गम्भीर रहेको उल्लेख गरिएको छ।
प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक अनुसन्धान अघि बढाउने र कसुर पुष्टि भएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको छ।
प्रहरी नेतृत्वलाई जोडेर सार्वजनिक भएका आरोपहरूको खण्डन गर्दै प्रहरीले संगठनको संस्थागत गरिमा, व्यावसायिकता र विश्वसनीयतामाथि आँच पुर्याउने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।
यसअघि बिहीबार आईजीपी दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका थिए। बैठकमा सातै प्रदेशका प्रहरी प्रमुखका रूपमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
दिनभर चलेको बैठकमा प्रहरी संगठनका पछिल्ला गतिविधि, समसामयिक सुरक्षा चुनौती, संगठनको आन्तरिक समन्वय तथा विभिन्न घटनाक्रमबारे छलफल भएको जनाइएको छ। विशेषगरी हिरासतमा रहेकी इनम सापकोटासँग जोडिएर सार्वजनिक भइरहेका विषय, प्रहरी नेतृत्वमाथि उठेका प्रश्न तथा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचनाहरू बाहिरिएको विषयमा समेत गम्भीर छलफल भएको स्रोतको दाबी छ।
पछिल्लो समय प्रहरी नेतृत्वलाई विभिन्न विवादसँग जोडेर सार्वजनिक भइरहेका विषयले सुरक्षा संगठनभित्र र बाहिरसमेत चर्चा पाइरहेका बेला पीसीसी बैठकपछि प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेको हो।
सुरक्षा निकायको नेतृत्वमाथि उठ्ने प्रश्न र सार्वजनिक हुने आरोपको निष्पक्ष छानबिन हुनु आवश्यक छ। त्यस्तै, अपुष्ट सूचना र भ्रमपूर्ण प्रचारबाट संस्थाको प्रतिष्ठामा असर पर्न नदिन पनि प्रहरी संगठन उत्तिकै जिम्मेवार हुनुपर्ने देखिन्छ।
प्रहरीको पछिल्लो विज्ञप्तिले नेतृत्वमाथि सार्वजनिक भइरहेका आरोपलाई खण्डन गर्दै संगठनको संस्थागत छवि जोगाउने प्रयास गरेको देखिन्छ। तर सार्वजनिक भएका विषयको वास्तविकता र त्यससँग सम्बन्धित तथ्यहरू निष्पक्ष अनुसन्धान तथा प्रमाणका आधारमा स्पष्ट हुनु आवश्यक छ।





