काठमाडौँ- वरिष्ठ कलाकार हरिवंश आचार्यले अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको कला र खेलकुद दुवै क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन्।

चलचित्र विकास बोर्डमा आयोजित श्रद्धाञ्जली सभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आचार्यले थापाको बहुआयामिक व्यक्तित्व र अन्तर्राष्ट्रिय ख्यातिको चर्चा गरेका हुन्।

आचार्यकाअनुसार सुनिल थापाले नेपाली कलाकारको पहिचानलाई बलिउड, हलिउड र नेटफ्लिक्सजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पुर्याउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । उनका फिल्महरू हेर्दा यो नेपाली मान्छे हो भनी गर्व गर्ने अवसर मिलेको स्मरण गर्दै आचार्यले उनको अन्तर्राष्ट्रिय छापको उच्च प्रशंसा गरे ।

अभिनय यात्रा शुरु गर्नुअघि थापा भारतको राष्ट्रियस्तरको फुटबल खेलाडी भएको तथ्यलाई समेत आचार्यले उजागर गरे । उनले थापाको अभावमा भारतीय मित्रहरूबीच ‘सुनिल थापा हाम्रो मान्छे हो’ भनेर गर्वका साथ परिचय दिने गौरवपूर्ण क्षणहरू अब इतिहास बनेको बताए ।

उनले भने,‘नेपालको प्रतिनिधित्व गरेर संसारभर नै नेपालको आर्टिस्टको छाप छोड्नुभएको थियो। उहाँ नेपालमा मात्र होइन बलिउडमा इभन हलिउडका साथै नेटफ्लिक्सहरूमा उहाँको सिनेमाहरू हेर्दाखेरि यो नेपालको मान्छे हो भनेर गर्व गर्ने ठाउँ थियो हाम्रो । र उहाँ कलाकार हुनुभन्दा अगाडि एउटा असाध्यै राम्रो फुटबल प्लेयर पनि हुनुहुन्थ्यो । उहाँ इन्डियाको नेशनल प्लेयर फुटबलर पनि हो । र सम्पूर्ण क्षेत्रमा ठुलो क्षति भएको छ । र हामीले सुनिल थापा हाम्रो मान्छे भनेर भारतीय मित्रहरूलाई भेट्दाखेरि पनि हामीले भन्ने अवसर पाउँथ्यौँ । त्यो सबै अब इतिहास भयो नेपाली चलचित्रको लागि। र मैले उहाँसँग दुई वटा चलचित्रमा सँगै काम गर्ने अवसर पाएको थिएँ । एउटा तँ त साह्रै बिग्रिस नि बद्री, अर्को जे भो राम्रै भो भनेर । र उहाँले हाम्रो चलचित्रमा काम गरिदिएर हाम्रो चलचित्रलाई नै एउटा राम्रो चलचित्र बनाउन ठूलो योगदान दिनुभयो । र कहिले पनि कुनैपनि मान्छेलाई कहिले पनि दुःख नदिने प्रवृत्तिको मान्छे हुनुहुन्थ्यो उहाँ ।’

आचार्यले आफूले थापासँग ‘तँ त साह्रै बिग्रिस नि बद्री’ र ‘जे भो राम्रै भो’ जस्ता लोकप्रिय चलचित्रमा सँगै काम गर्ने अवसर पाएको उल्लेख गरे । थापाको उत्कृष्ट अभिनय र सहयोगले ती चलचित्रहरूलाई सफल बनाउन ठूलो योगदान पु¥याएको र उहाँ कहिल्यै कसैलाई दुःख नदिने अत्यन्तै सरल र भद्र स्वभावको व्यक्ति भएको आचार्यले स्मरण गरे।

तपाईको प्रतिक्रिया