विराटनगर, कार्तिक १२ गते । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशन शुक्रबार (कात्तिक १३ गते) आयोजना हुने भएको छ।
साधारणसभामा शेयर सदस्यका सन्तानलाई शैक्षिक पुरस्कार प्रदान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान गरिने भएको छ।
बैठकले एसईई २०८२ मा ३.८४ जीपीए प्राप्त गर्ने शेयर सदस्य टेकप्रसाद अधिकारीका पुत्र मुलुक शर्मा र कक्षा १२ मा ३.२८ जीपीए प्राप्त गर्ने शेयर सदस्य विक्रम लुइँटेलकी पुत्री सुबिसा लुइँटेललाई पुरस्कृत गर्ने निर्णय गरेको छ।
संस्थाले एसईई उत्तीर्ण मुलुक शर्मालाई २ हजार ५०० रुपैयाँ र कक्षा १२ उत्तीर्ण सुबिसा लुइँटेललाई ३ हजार रुपैयाँसहित पुरस्कार प्रदान गर्नेछ। शैक्षिक उपलब्धि हासिल गरेका शेयर सदस्यका सन्तानलाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले २०८२ सालदेखि यस्तो पुरस्कार प्रदान गर्न सुरु गरेको हो।
यसैगरी, विद्यावारिधि हासिल गरेका शेयर सदस्य डा. रामचन्द्र अधिकारीलाई सम्मान गरिने भएको छ। बैठकले उत्कृष्ट बचतकर्ताका रूपमा रोशन पोखरेल, असल ऋणीका रूपमा प्रदीप भुजेल र अग्रज शेयर सदस्यका रूपमा तेजेन्द्रबहादुर भण्डारीलाई सम्मान गर्ने निर्णयसमेत गरेको छ।
साधारणसभामा संस्थाका ज्येष्ठ शेयर सदस्य शिवबहादुर कार्कीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिनेछ।
आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनका आधारमा शेयर सदस्यलाई ६ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्तावसमेत साधारणसभामा पेस गरिने बैठकले निर्णय गरेको छ।
साधारणसभामा सहभागी हुने प्रत्येक शेयर सदस्यलाई भोजन खर्चबापत ६ सय रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
त्यसैगरी, लीलावल्लभ घिमिरे, भोजराज घिमिरे, प्रदीप भुजेल र दीपक फुयाललाई प्रदान गरिएको ऋण अनुमोदनका लागि बैठकले निर्णय गरेको छ।
साधारणसभामा संस्थाका अध्यक्ष दीपक दाहालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
साधारणसभा तथा अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक निर्णयहरू गरेकाे संस्थाका सचिव विजयहरि खतिवडाले वताउनुभयाे ।

तपाईको प्रतिक्रिया