काठमाडाैं। इलाम, पाँचथर र ताप्लेजुङको जीवनरेखा मानिने मेची कोरिडोरको एउटा खण्ड अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता सरकारले तोडेको छ। सडक डिभिजन इलामले केचना–कञ्चनजङ्घा सडकअन्तर्गत बेलासे–राकसे भञ्ज्याङ खण्डको स्तरोन्नति गर्दै आएको खड्का कृष्ण–सक्षम संयुक्त उपक्रमसँगको ठेक्का अन्त्य गरेको हो। डिभिजनले बुधबार ठेक्का अन्त्य गर्ने निर्णय गरी बिहीबार सार्वजनिक सूचना प्रकाशित गरेको छ।
काठमाडौँको उक्त निर्माण व्यवसायीले आर्थिक वर्ष २०७७/७८ मा ठेक्का पाएको थियो। सम्झौताअनुसार ३० महिनाभित्र काम सम्पन्न गर्नुपर्ने थियो। तर समयमा काम नसकिएपछि निर्माण व्यवसायीलाई पटक–पटक गरी थप ३३ महिनाको म्याद दिइयो। कुल ६३ महिना बितिसक्दा पनि आयोजनाको वित्तीय प्रगति ४५.२८ प्रतिशतमा सीमित छ। डिभिजनका अनुसार पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता गर्दा पनि निर्माण व्यवसायीले सम्झौताका सर्त पालना गरेन। काम सक्ने भन्दै लिखित प्रतिबद्धता र कार्यतालिका बुझाए पनि सोहीअनुसार काम अघि बढाएन।
निर्माण व्यवसायीले सम्झौताको आधारभूत उल्लङ्घन गरेको भन्दै डिभिजनले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) तथा ठेक्का सम्झौताका सामान्य सर्तबमोजिम ठेक्का अन्त्य गरेको हो। अब निर्माण व्यवसायीमाथि सार्वजनिक खरिद ऐनको दफा ५९(८) र ६३ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४१ र ११३(६) बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डिभिजनले जनाएको छ। यी व्यवस्थाअनुसार निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेसम्मको कारबाही हुन सक्छ।
डिभिजनले निर्माण व्यवसायी वा उसको आधिकारिक प्रतिनिधिलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित उपस्थित भई भुक्तानी हुन बाँकी कामको हिसाब फरफारक गर्न आग्रह गरेको छ।तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानुन र सम्झौताबमोजिम डिभिजन आफैँले मूल्याङ्कन गरी हिसाब फरफारक गर्ने सूचनामा उल्लेख छ। वर्षौँदेखि अलपत्र रहेको यो सडकखण्डका कारण स्थानीयवासीले सास्ती भोग्दै आएका छन्। बाँकी काम कहिले र कसरी अघि बढाइने हो भन्ने विषयमा भने डिभिजनले केही खुलाएको छैन।





