तेजन खड्का
काठमाडौँ । अभिनेत्री सिर्जना निङ्लेखु नेपाली फिल्म क्षेत्रमा निरन्तर आफ्नो उपस्थिति बलियो बनाउँदै अघि बढिरहेकी छन्। डेब्यु फिल्म ‘कार्साङ’ बाट दर्शकमाझ चिनिएकी सिर्जनाले त्यसपछि ‘जारी २’ र हाल प्रदर्शनमा आएको ‘मिरमिरे’ गरी लगातार तीन फिल्ममा अभिनय गरिसकेकी छन्। विशेष कुरा के छ भने, यी तीनवटै फिल्ममा उनी अभिनेता दयाहाङ राईसँगै देखिएकी छन्।
हालै प्रदर्शनमा आएको फिल्म ‘मिरमिरे’ बाबु–छोरीको भावनात्मक सम्बन्ध र बाल मनोविज्ञानमा आधारित छ। यस फिल्ममा सिर्जना ‘नुमा मिस’ नामक शिक्षिकाको भूमिकामा देखिएकी छन्। फिल्मको प्रचारप्रसारमा व्यस्त रहेकी उनले यो फिल्मलाई आफ्नो करिअरको महत्वपूर्ण मोडको रूपमा लिएको बताइन्।
‘मिरमिरे’ मेरो लागि टर्निङ पोइन्ट हुन सक्छ !
फिल्म प्रदर्शनमा आएसँगै आफू निकै उत्साहित भएको बताउँदै सिर्जनाले भनिन्, “दर्शकले फिल्मलाई कसरी लिनुहुन्छ भन्ने उत्सुकता छ। यो मेरो तेस्रो फिल्म भएकाले पनि निकै महत्वपूर्ण छ। राम्रो प्रतिक्रिया आयो भने अझ धेरै काम गर्ने हौसला मिल्छ।”
फिल्ममा शिक्षिकाको भूमिकामा देखिनु उनका लागि नयाँ अनुभव थियो। “वास्तविक जीवनमा टिचरको अनुभव नभएकाले फिल्ममा यो भूमिका निभाउँदा रमाइलो पनि भयो र चुनौतीपूर्ण पनि। बच्चाहरूसँग नजिक भएर काम गर्नु सजिलो रहेन,” उनले अनुभव सुनाइन्।
अभिनयपछि टिचरप्रतिको सम्मान अझ बढ्यो
विद्यार्थी हुँदाको टिचरप्रतिको बुझाइ र अहिले अभिनय गर्दाको अनुभूति फरक रहेको बताउँदै सिर्जनाले भनिन्, “पहिले टिचरलाई हेर्ने दृष्टिकोण फरक थियो। अहिले टिचर बनेर बच्चाहरूलाई गाइड गर्दा, उनीहरूको चकचक्याइँ सम्हाल्दा टिचरको जिम्मेवारी कति गाह्रो हुन्छ भन्ने महसुस भयो। अभिनयपछि टिचरप्रतिको सम्मान झन् बढेर आयो।”
दयाहाङसँगको सहकार्य : संयोग पनि, रोजाइ पनि
तीनवटै फिल्ममा अभिनेता दयाहाङ राईसँग काम गर्नु संयोग हो कि रोजाइ भन्ने प्रश्नमा सिर्जनाले स्पष्ट जवाफ दिइन्। “दयाहाङ दाइ मेरो पहिलो प्राथमिकता र रोजाइ त हो नै, तर यसलाई संयोग पनि भन्न सकिन्छ। ‘कार्साङ’, ‘जारी २’ र ‘मिरमिरे’—तीनै फिल्ममा उहाँसँगै काम गर्ने अवसर मिल्यो।”
दयाहाङ राईलाई आफ्नो ‘आइडल’ मान्ने सिर्जनाले उहाँसँग काम गर्दा अभिनयमा धेरै कुरा सिक्न पाएको बताइन्। “अभिनयलाई कसरी गहिरो रूपमा बुझ्ने, क्यारेक्टरका लागि कसरी रिसर्च गर्ने भन्ने कुरा दया दाइबाट सिक्न पाएँ। पहिला अभिनय सजिलो ठान्थेँ, तर उहाँसँग काम गरेपछि यो निकै गम्भीर र जिम्मेवारीपूर्ण विधा रहेछ भन्ने बुझें,” उनले भनिन्।
चर्चाभन्दा कामलाई प्राथमिकता
कतिपय कलाकार एउटै फिल्मबाट ठूलो चर्चामा आउने भए पनि आफू तीन फिल्म खेलिसक्दा पनि खासै चर्चामा नआएको भन्ने प्रश्नमा सिर्जनाले फरक धारणा राखिन्। “म यो क्षेत्रमा चर्चा कमाउनभन्दा पनि काम गर्न आएकी हुँ। कामकै आधारमा चिनिन चाहन्छु,” उनले भनिन्।
‘कार्साङ’बाट बेस्ट डेब्यु एक्ट्रेस अवार्ड प्राप्त गरिसकेकी उनले त्यो नै आफ्नो कामको प्रमाण भएको बताइन्। “बाहिर देखिने व्यक्तिगत चर्चामा मेरो खासै रुचि छैन। मेरो कामको चर्चा होस् भन्ने चाहना हो, जुन भइरहेको छ,” उनले थपिन्।
महिलाकेन्द्रित कथामा काम गर्ने इच्छा
अबका दिनमा आफूलाई सुहाउने र न्याय गर्न सक्ने जुनसुकै भूमिका गर्न तयार रहेको बताउँदै सिर्जनाले महिलाको कथामा केन्द्रित फिल्महरूमा काम गर्ने विशेष इच्छा रहेको उल्लेख गरिन्।
सानैदेखिको सपना कलाकारिता
कलाकारिता आफ्नो सानैदेखिको रुचि भएको बताउँदै सिर्जनाले आफ्नो यात्रा रेडियोबाट सुरु भएको जानकारी दिइन्। “एसएलसीपछि रेडियो, त्यसपछि टेलिभिजन, म्युजिक भिडियो हुँदै अनुप बराल सरको ‘एक्टर्स स्टुडियो’बाट १८ महिनाको थिएटर कोर्स गरेँ,” उनले भनिन्।
कथाहरू नपाएकाले केही समय ओझेलमा परे पनि पछि ‘कार्साङ’मार्फत फिल्म क्षेत्रमा प्रवेश गर्न पाएको उनले स्मरण गरिन्। “अभिनय मेरो नसा–नसामा छ। यो मेरो प्यासन हो,” उनको भनाइ छ।
अभिनयमै भविष्य देख्छु
कलाकारितामा आफ्नो भविष्य देख्ने बताउँदै सिर्जनाले भनिन्, “यदि राम्रो काम पाइरहेँ भने आजीवन यही क्षेत्रमा लागिरहन्छु। एउटा–दुइटा फिल्म चलेन भन्दैमा छोड्ने मान्छे म होइन।”
उनले परिवारको राम्रो साथ र व्यक्तिगत रूपमा सेटल भएकाले निडर भएर काम गर्न सकिरहेको पनि बताइन्।
बुटिक व्यवसायमा पनि संलग्न
अभिनयसँगै आफू बुटिक व्यवसायमा पनि संलग्न रहेको जानकारी दिँदै उनले त्यो व्यवसाय निरन्तर चलिरहने बताइन्।
‘मिरमिरे’ हेर्न दर्शकलाई आग्रह
अन्त्यमा फिल्म ‘मिरमिरे’बारे दर्शकलाई सन्देश दिँदै सिर्जनाले भनिन्, “यो बाबु–छोरीको न्यानो सम्बन्ध र बाल मनोविज्ञानमा आधारित फिल्म हो। अभिभावकले बच्चाको मनोविज्ञान बुझ्न यो फिल्मले सहयोग गर्छ। हलमा जाँदा मन दह्रो बनाएर जानुहोला, नत्र फिल्म हेरेर रुन सक्नुहुन्छ।





