बुटवल । मैथिल महिला समाज नेपाल, रुपन्देहीको आयोजनामा तथा मैथिल समाज नेपाल, रुपन्देहीको सहयोगमा ‘सामा–चकेवा’ सांस्कृतिक कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न भएको छ । मिथिला क्षेत्रको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेकाे सामा–चकेवा कार्यक्रममा मैथिली भाषा, संस्कृति र नारी सशक्तीकरणको सन्देश उजागर गरिएको थियो ।
सामा–चकेवाकाे शुभारम्भ साँझको दियो बालेर र मिथिला गीतका साथमा गरिएको थियो । मैथिल महिला समाज रूपन्देहीकी सहसचिव कविता सिंहले स्वागत मन्तव्य राख्दै मैथिली भाषा र परम्पराको संरक्षणमा महिलाको भूमिकालाई जोड दिएकी थिइन् ।
प्रमुख अतिथि उदय कुमार सिंहले ‘सामा–चकेवा’ मिथिला संस्कृति र भाइ–बहिनको स्नेहलाई जीवन्त राख्ने पर्व हो रहेको बताउँदै कार्यक्रमले समाजमा एकता, माया र परम्पराको भाव जगाउने बताए । कार्यक्रममा विशिष्ट अतिथि श्री हरिनारायण मिश्राले आजको सामा–चकेवा कार्यक्रममा जनकपुरकै झल्को आएकाे बताउँदै आफु जनकपुरमै बसेझैँ लागेको बताए ।
कार्यक्रममा बोल्दै समाजका सम्मानित सदस्य द्वय अशोक कुमार ठाकुर र रामेश्वर मण्डलले दिदी–बहिनीको स्नेह र पवित्र सम्बन्धलाई यो पर्वले अझ सुदृढ बनाएको बताए । कार्यक्रममा समाजका सल्लाहकार प्रभात कुमार ठाकुर, अमरेन्द्र कुमार सिंह, विजयकुमार झा का साथै लेखा समिति, महिला समिति, युवा समिति र समाजका अन्य पदाधिकारी एवम् सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरूले दर्शकलाई मन्त्रमुग्ध पारे । महिलाहरूको सामूहिक नृत्यसँगै पारम्परिक सामा–चकेवा गीत गुञ्जिएकाे कार्यक्रममा स्थानीय कलाकारहरूले “सामा–चकेवाः बहिन–भाईक प्रेमक प्रतीक” शीर्षकमा नाट्य प्रस्तुति दिएका थिए ।
त्यस्तै मिथिला फेशन शो मा सहभागी महिलाहरूले परम्परागत रातो–पहेलाे साडी, मखन–चुन्नी, पाग, पगड़ी सहित मिथिला पोसाक प्रदर्शन गरे । त्यस्तै लोकगीत सामा–चकेवा खण्डमा महिलाहरूले मैथिली भाषामा महिला सशक्तीकरण, शिक्षा र समानताका सन्देशयुक्त गीतहरू प्रस्तुत गरेका थिए ।
समाजले मिथिला संस्कृतिको सुन्दर झल्को दिँदै सामा–चकेवा पात्रहरूको प्रतीकात्मक परिक्रमा दुर्गा मन्दिरदेखि राधाकृष्ण मन्दिरसम्म गरेका थिए ।
दुर्गा मन्दिरको प्राङ्गण (मण्डप) सम्पूर्ण मिथिला सौन्दर्यले भरिएको थियो । मधुबनी चित्रकला, मिथिला पेन्टिङ, पारम्परिक ब्यानर र दीप सजावटले सम्पूर्ण वातावरणलाई रौनक बनाएको थियो । प्रवेशद्वारमा सामा–चकेवा पात्रहरूको आकर्षक मूर्तिले आगन्तुकलाई स्वागत गरेको थियो ।
सामा चकेवाकाे सम्पूर्ण कार्यक्रम मैथिली भाषामै सञ्चालन गरिएको थियो । जसले मिथिला भाषालाई अझै पनि संरक्षण गरिएकाे भान हुन्थ्याे । कार्यक्रममा महिला नेतृत्व र सहभागिता उल्लेखनीय थियो भने स्थानीय युवा र बालबालिकाले सांस्कृतिक प्रस्तुतिमा सक्रिय भूमिका खेलेका थिए ।
सामा-चकेवाकाे प्रस्तुतिहरूमा शिक्षा, समानता, सशक्तीकरण लगाएतका सामाजिक सन्देश सशक्त रूपमा प्रतिबिम्बित भएका थिए ।
मैथिल महिला समाज नेपाल रुपन्देही की कोशाध्यक्ष कार्यक्रमको मेनका साहले संयोजन गरेको उक्त कार्यक्रममा मैथिल समाज नेपाल रुपन्देहीका अध्यक्ष उदयकुमार सिंहको प्रमुख आतिथ्य रहेको थियो । सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि (वडा सदस्य, वडा नं. ३) हरिनारायण मिश्रकाे विशिष्ट अतिथिका रूपमा उपस्थिति थियो ।
कार्यक्रमको अन्त्यमा मिथिला संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम संयोजक मेनका साहले सहभागी, सहयोगी संस्था र सम्पूर्ण आगन्तुकप्रति धन्यवाद ज्ञापन गर्दै भनिन्– “हामी मैथिली भाषा र परम्पराको गर्वलाई निरन्तर जीवित राख्ने सङ्कल्पका साथ अघि बढिरहेका छौँ ।”
मैथिल महिला समाज नेपाल, रुपन्देहीले आयोजना गरेको सामा–चकेवा कार्यक्रम २०८२ ले मिथिला संस्कृति, नारी सशक्तीकरण र सामाजिक एकताको सन्देश प्रभावकारी रूपमा सम्प्रेषण गर्न सफल भएको आयोजकले जनाएका छन् ।
“जय जय मिथिला माता” भन्ने सामूहिक गायनका साथ समापन गरिएको कार्यक्रमको सञ्चालन मैथिल समाज नेपाल रुपन्देहीका सचिव मनोज कुमार मण्डलले गरेका थिए ।





