काठमाडौँ, असार १३ गते । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा सञ्चालित प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिताअन्तर्गत बुद्धिचाल (चेस) तर्फको स्पर्धामा रिसन थापाले पहिलो स्थान हात पार्नुभएको छ। काठमाडौँ महानगरपालिका–७ स्थित सिफलमा भएको सात चरणको प्रतियोगितामा उहाँले ६.५ अङ्क प्राप्त गर्दै उपाधि जित्नुभएको हो। प्रतियोगितामा आशिष फुयाँल दोस्रो तथा सुमन मोक्तान तेस्रो हुनुभएको छ।
सोही खेल महोत्सवअन्तर्गत भएको टग अफ वार (डोरी तान्ने खेल) मा जेन्जी समूह पहिलो, सगरमाथा समूह दोस्रो तथा माउन्ट एभरेस्ट समूह तेस्रो भएको छ। नेपाली खेलकुदको विकास र संस्कृतिको रक्षा दुवै विषयमा यो खेल महोत्सव लाभदायक हुने अपेक्षा गरिएको छ। कुल छ वटा रैथाने खेलहरू समावेश गरिएको यस प्रतियोगिताअन्तर्गत डन्डिबियो, बाघचाल, घैँटो फुटाई र सटपुट (छेलो हान्ने) खेलहरू आइतबार सञ्चालन हुने आयोजकले जनाएको छ।
पुरस्कार राशितर्फ टग अफ वारमा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार तथा तेस्रो हुने समूहले ५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन्। यसैगरी, बुद्धिचालतर्फ पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ६ हजार रुपियाँ पुरस्कार पाएका छन्। चेसमा चौथो हुनेले ५ हजार, पाँचौँले ४ हजार, छैटौँले ३ हजार, सातौँले २ हजार तथा आठौँदेखि दसौँ स्थानसम्म आउने खेलाडीहरूले जनही १ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राविधिक सहयोगमा आयोजित यस प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वरिष्ठ पत्रकार ऋषि धमलाले गर्नुभएको थियो। उद्घाटन समारोहमा नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गाना विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
यस्तै, साइक्लिङ सङ्घका महासचिव रञ्जन राजभण्डारी, भेट्रान चेस खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ, चेसका अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजु, नेपाल बुद्धिचाल महासङ्घका उपाध्यक्ष ताराबहादुर रानाभाट, उपाध्यक्ष सानुराज बज्राचार्य, कोषाध्यक्ष वीरबहादुर रावल तथा पूर्व राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं लगायतको उपस्थिति रहेको थियो। उद्घाटन समारोह आयोजक कमिटीका संयोजक दीपेन राईको सभापतित्वमा सम्पन्न भएको थियो।







