काठमाण्डाै — नेपालमा वितेको पाँच वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढेका छन् । स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार एक सय ८७ रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६ सय ७८ जना पुगेको छ ।
महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषमार्फत क्यान्सर पीडितलाई एक लाख रुपैयाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ । प्रदेश सरकारले पनि थप एक लाखसम्मको सहायता उपलब्ध गराउँदै आएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार अत्यधिक जाँडरक्सी, चुरोट बिँडीको प्रयोग, फास्टफुड तथा जङ्कफुडको बढ्दो प्रयोग, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन् ।
उहाँले सन्तुलित खानपिन, नियमित व्यायाम र जाँडरक्सी तथा चुरोट बिँडीबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनुभयो । नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन र पेटको क्यान्सर सबैभन्दा बढी देखिएका छन् ।
सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप निःशुल्क उपलब्ध गराउन थालेको छ ।







