विराटनगर। उद्योग संगठन मोरङले ५३औँ वार्षिक साधारणसभाको अवसरमा सुनसरीस्थित अरिहन्त मल्टिफाइबर्सका सञ्चालक अश्विनी गोल्छालाई ‘उच्च रोजगार योगदान कदर सम्मान’ प्रदान गरेको छ।
सुनसरीको सोनापुरमा रहेको अरिहन्त मल्टिफाइबर्समा हाल मजदुर र कर्मचारी गरी चार हजार २०० भन्दा बढी व्यक्ति कार्यरत छन्। रोजगार सिर्जनाका हिसाबले यो उद्योग मुलुककै सबैभन्दा धेरै कामदार कार्यरत औद्योगिक प्रतिष्ठानमध्ये एक मानिन्छ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेप र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संयुक्त रूपमा गोल्छालाई सम्मान हस्तान्तरण गरेका हुन्।
सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री लिङथेपले ठूला उद्योग तथा परियोजनामा महिलाको नेतृत्व स्थापित हुनु नेपाल आर्थिक तथा सामाजिक रूपान्तरणको दिशामा अघि बढिरहेको सकारात्मक संकेत भएको बताए।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले गोल्छा परिवार नेपालको उद्योग व्यापार क्षेत्रको प्रेरणादायी र अनुकरणीय संस्था भएको उल्लेख गर्दै नेपालको औद्योगिकीकरणमा गोल्छा अर्गनाइजेसनको महत्वपूर्ण योगदान रहेको बताए।
उनले जुट उद्योग गोल्छा परिवारको ऐतिहासिक विरासत रहेको उल्लेख गर्दै त्यही विरासतलाई अश्विनी गोल्छाले सफलतापूर्वक नेतृत्व गरिरहेको बताए।
सम्मानपछि बोल्दै अश्विनी गोल्छाले महिला भएकै कारण उद्योग सञ्चालनमा आफूले कुनै अवरोध वा विभेद भोग्न नपरेको बताइन्। सबैबाट आफूले प्रेम, सहयोग र सम्मान पाएको उल्लेख गर्दै उनले उद्योग व्यवसाय पारिवारिक विरासतका रूपमा प्राप्त भएको र यसै क्षेत्रमा समर्पित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
उद्योग संगठन मोरङले रोजगार सिर्जना, औद्योगिक विकास तथा उत्पादनमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने उद्यमीलाई सम्मान गर्दै आएको छ। यस वर्षको ‘उच्च रोजगार योगदान कदर सम्मान’ अश्विनी गोल्छालाई प्रदान गरिएको हो।







