तानसेन, कात्तिक १७ — पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई मित्रराष्ट्र जापान सरकारको सहयोगमा अत्याधुनिक बारुणयन्त्र (दमकल) प्रदान गरिएको छ।
सहयोगी दाताका प्रतिनिधिहरूका अनुसार, जिल्लाको विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने उद्देश्यले आधुनिक दमकल उपलब्ध गराइएको हो। यसअघि पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिकामा मात्र दुई वटा दमकल रहेका थिए, जसका कारण आगलागीका घटना नियन्त्रण गर्न कठिनाइ हुने गरेको थियो।
नयाँ दुईवटा दमकल उपलब्ध भएपछि जिल्लाका दुर्गम क्षेत्रमा समेत आगलागीका घटना नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ। रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले नयाँ दमकल सञ्चालनमा आएपछि पाल्पाको पश्चिम क्षेत्रमा हुने आगलागीका घटनालाई समयमै नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रैनादेवी छहरा, रिव्दीकोट र तिनाउ गाउँपालिकालाई समेत सेवा क्षेत्र बनाएर दमकल सञ्चालन गरिने बताउनुभयो।
भट्टराईका अनुसार, यसअघि आगलागी हुँदा तानसेनबाट करिब ३१ किलोमिटर टाढाबाट दमकल मगाउनुपर्ने बाध्यता थियो। उहाँले दमकलको प्रभावकारी सञ्चालन र मर्मतसम्भारका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
तानसेन नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले पनि दुईवटा दमकल भएपछि नगर क्षेत्रमा मात्र होइन, वरपरका पालिकामा समेत आगलागी नियन्त्रणमा सहजता आउने बताउनुभयो। उनका अनुसार, अघिल्लो अवस्थामा एउटा मात्र दमकल हुँदा अन्य पालिकामा पठाउँदा तानसेनमै आगलागी भए समस्या हुने गरेको थियो।
पाल्पाका दुई पालिकालाई जापान सरकारद्वारा अत्याधुनिक दमकल हस्तान्तरण





