अर्जुन काफ्ले, स्याङ्जा, कात्तिक १२ गते।
कालीगण्डकी गाउँपालिका–३ आलमदेवी देउरालीमा ३९औँ खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। हरिबोधनी एकादशीको अवसरमा निरन्तर ३९ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगिता यस वर्ष पनि जनज्योति क्लबले आयोजना गरेको हो।
क्लबका अध्यक्ष टोपबहादुर रानाका अनुसार प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुनेछ र खेलहरू हरिबोधनी एकादशीको दिन सम्पन्न हुनेछन्।
प्रतियोगिताको विजेता टिमले एक लाख ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई ८० हजार, तेस्रोलाई ४० हजार र सान्त्वना टिमलाई २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै, उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) लाई तीन हजार रुपैयाँ, साथै बेष्ट ब्लकर, सेटर, डिफेन्डर, स्पाइकर, सर्भर र कोचलाई जनही एक हजार पाँच सय रुपैयाँका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ।
अध्यक्ष रानाले ३९ वर्षदेखि चलिआएको यस खेल परम्पराको निरन्तरता दिन पाउनु क्लबका लागि गर्वको कुरा भएको बताउँदै यस वर्ष पनि स्थानीय टिमहरूको सहभागिताले प्रतियोगितालाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउने विश्वास व्यक्त गर्नुभयो।





