सुभाष कायस्थ
जनकपुरधाम, ९ भदौ । प्रदेशको शान्ति सुरक्षामा सहजताका लागि मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालयले नेपाल प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण गरेको छ । मंगलवार गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सो सञ्चार सामाग्री मधेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओमप्रसाद अधिकारीलाई सो सञ्चार सामाग्री हस्तान्तरण गरेका हुन । मन्त्रालयका अनुसार प्रदेशका ८ वटै जिल्लामा जडान गरिएका सिसिटीभी मरम्मर सम्भार सामाग्रीसहित ल्यापटप, ओटीडीआर, क्यामेरा, स्टीकर, स्लीभ, लेजर लाइट, ग्लब्स, मेटल डिटेक्टर र हेलमेट लगायत २३ लाख रुपैया बराबरको सञ्चार सामाग्री प्रदेश प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
सञ्चार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले भने ‘शान्ति सुरक्षा प्रभावकारी बनाउन सञ्चार सामाग्री निकै आवश्यक भएकाले प्रहरीलाई हस्तान्तरण गरी सहजता प्रदान गरेको हो । खासगरी प्रदेशका विभिन्न जिल्लामा जडान गरिएका सिसिटीभी बिग्रेकालाई मध्य नजर गर्दै त्यसको मरम्मत सामाग्री अहिले दिइएको छ । आवश्यक भएको ठाउँमा प्रदेश सरकारले नयाँ सिसिटीभी जडान गर्ने योजना ल्याउनेछ ।’ यसअघि प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालय र ४ ईलाका प्रहरी कार्यालयले एक÷एक थान सवारी साधन जीप हस्तान्तरण गरेको थियो ।





