विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्य र तथ्यमा आधारित रही पत्रकारिता गरिनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । देश, समाज र जनताको हित हुने गरी पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आज मंगलबार आयोजित पत्रकार दुर्घटना बिमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले बिमा कम्पनीले बिमितको भुक्तानी सहज र सरल ढङ्गबाट गर्ने व्यवस्थाका लागि आग्रह गर्दै प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानले पत्रकारको हकहितमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जन ले पत्रकारहरूको पेशागत जोखिम न्यूनीकरणका लागि पत्रकार दुर्घटना बीमा कार्यक्रम महत्वपूर्ण पहल भएको बताउनुभयो । उहाँले बीमाले जोखिम व्यवस्थापन, आर्थिक सुरक्षा र सामाजिक संरक्षणमा योगदान पु¥याउँने बताउनुभयो । कोशी प्रदेश सरकारले आम नागरिक, विपन्न परिवार तथा उच्च जोखिममा रहेकालाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको समेत बताउनुभयो। विपद्पछि राहतभन्दा पूर्वबीमा गरी आर्थिक सुरक्षा सुनिश्चित गर्नु दीगो उपाय रहेको बताउनुभयो ।

व्यवसायीलाई आफ्नो पेशामा टिकाउन बिमा कम्पनीको ठूलो भूमिका रहेको उनले उल्लेख गरे । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहसिक एवं जोखिमपूर्ण पेसा भएकाले दुर्घटना बिमा कार्यक्रमबाट बिमित लाभान्वित हुने धारणा राख्नुभयो ।

एक हजार २०० पत्रकारको एक वर्षका लागि दुर्घटना बिमामा लाग्ने खर्च प्रदेश सरकारले बेहोरेको जानकारी दिँदै उहाँले महासंघले आवश्यकता महसुस गरेर कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । प्रदेश सरकारको आर्थिक सहयोगमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पत्रकारका लागि एक वर्षको दुर्घटना बिमा गरेको छ।

तपाईको प्रतिक्रिया