जनार्जन खत्री
सर्लाही, मङ्सिर १३ गते । सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारमा रहेको सिटी डिपार्टमेन्ट स्टोरका एक कर्मचारीमाथि शनिबार राति धारिलो हतियार प्रहार गरी आक्रमण भएको छ ।
आक्रमणबाट कर्मचारी घाइते भएका छन् भने उहाँ चढेर आएको मोटरसाइकल लुटिएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी केन्द्र नजिकै भएको आक्रमणमा लालबन्दी नगरपालिका–७ निवासी ३७ वर्षीय सुजित सिंह घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
सिंहको हात र खुट्टामा चोट लागेको छ । उहाँको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
हरिवन बजार क्षेत्रबाट पसलको रकम सङ्कलन गरी फर्कने क्रममा सिंहमाथि आक्रमण भएको हो । उहाँले सङ्कलन गरेर पसलतर्फ ल्याउँदै गरेको रकम लुटिएको हो वा होइन भन्नेबारे यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
शनिबार राति करिब ८ बजे बागवानीको लच्का आसपास अपरिचित दुई व्यक्तिले हतियार देखाएर सिंहमाथि आक्रमण गरेका थिए । घटनास्थलमा गोली चलेको चर्चा भए पनि त्यसको पुष्टि भइनसकेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
डीएसपी गौतमका अनुसार आक्रमणकारीले सिंहले प्रयोग गरेको मोटरसाइकलसमेत लिएर फरार भएका छन् ।
आइतबार बिहानसम्म घटनामा संलग्न व्यक्ति पक्राउ परेका छैनन् । उनीहरूको खोजी तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको डीएसपी गौतमले बताउनुभयो ।
पछिल्लो समय लालबन्दी क्षेत्रमा आपराधिक गतिविधि बढ्दै गएपछि स्थानीय बासिन्दा तथा व्यवसायी त्रसित बनेका छन् ।





