काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बेच्न खोजेकाे आरोपमा प्रहरीले काठमाडौंको टुकुचाबाट आठ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ र सोही ठाउँका २२ वर्षीय राजु लामा छन् ।

त्यस्तै, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ घर भई पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले आज करिब ४ बजे बजारमा चेकजाँच गर्ने क्रममा ५६७ केजी बाख्रीको मासु दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको जनाएको छ ।

प्रहरीका अनुसार बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा मासु लोड भइरहेको थियो ।

पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तपाईको प्रतिक्रिया