विराटनगर । नेपाल प्रहरीको नियमित वार्षिक सरुवा प्रक्रियाअन्तर्गत मोरङ जिल्लाबाट अन्यत्र सरुवा हुनुभएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई मोरङ उद्योग व्यापार संघले एक कार्यक्रम आयोजना गरी भावपूर्ण विदाई गरेको छ ।
संघका अध्यक्ष अनिलकुमार साहको सभापतित्वमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक कटवाललाई सम्मानसहित विदाई गरिएको हो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी–व्यवसायी तथा महिला उद्यमीहरूको उपस्थिति रहेको थियो ।
विदाई कार्यक्रममा संघका अध्यक्ष साहले एसपी कटवालसँग संघको निकट सम्बन्ध रहेको उल्लेख गर्दै मोरङजस्तो औद्योगिक, व्यापारिक तथा सुरक्षा संवेदनशील जिल्लामा उहाँले निर्वाह गर्नुभएको जिम्मेवारी र भूमिकाको प्रशंसा गर्नुभयो ।
अध्यक्ष साहले एसपी कटवालले आफ्नो कार्यकालमा जिल्लाको शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा उद्योगी–व्यवसायीको सुरक्षाका विषयमा देखाउनुभएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । संघले आयोजना गरेका विभिन्न कार्यक्रम तथा औद्योगिक व्यापारिक प्रदर्शनी (एक्स्पो) सफल बनाउन उहाँबाट प्राप्त सहयोग, समन्वय र सहकार्यको समेत उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
प्रहरी प्रशासन र निजी क्षेत्रबीचको सम्बन्धलाई सुमधुर बनाउन एसपी कटवालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष साहले संघ तथा उद्योगी–व्यवसायीसँग उहाँले कायम गर्नुभएको आत्मीय सम्बन्ध स्मरणीय रहने उल्लेख गर्नुभयो । उहाँले आगामी कार्यक्षेत्रमा समेत अझै सफलता हासिल गर्दै व्यावसायिक जीवनमा उत्तरोत्तर प्रगति गर्न शुभकामना व्यक्त गर्नुभयो ।
विदाई कार्यक्रममा एसपी कटवालले मोरङमा कार्यरत रहँदा मोरङ उद्योग व्यापार संघबाट प्राप्त सहयोग, सद्भाव र सहकार्यप्रति आभार व्यक्त गर्नुभयो । उहाँले जिल्लाको शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणका लागि निजी क्षेत्र तथा व्यावसायिक संघसंस्थाको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।
संघका पदाधिकारी तथा कार्यसमितिबाट आफूले आवश्यक पर्दा सधैँ सहयोग र सहकार्यका लागि तत्परता पाएको उल्लेख गर्दै उहाँले प्रहरी प्रशासन र निजी क्षेत्रबीचको समन्वयले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल सारडा, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ तथा आमन्त्रित सदस्य श्रृति शर्मालगायतले एसपी कटवालसँगको सहकार्यका अनुभव सुनाउनुभएको थियो । वक्ताहरूले उहाँको कार्यशैली, सहयोगी भावना, उद्योगी–व्यवसायीप्रतिको सकारात्मक व्यवहार तथा सामाजिक गतिविधिमा देखाउनुभएको सक्रियताको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्नुभयो ।
मोरङमा कार्यरत रहँदा प्रहरी प्रशासन र निजी क्षेत्रबीच सहकार्य तथा समन्वयलाई प्राथमिकता दिनुभएका एसपी कटवालको सरुवासँगै संघले आयोजना गरेको विदाई कार्यक्रमले उहाँप्रति उद्योगी–व्यवसायीको सद्भाव र सम्मानलाई समेत झल्काएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला उद्यमी तथा उद्योगी–व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया