झापा : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला झापामा महिला तथा बालिकामाथि यौन अपराधका घटना सार्वजनिक भएका छन्। मंसिरको पहिलो दुई साताभित्रै तीन बालिका र तीन महिलामाथि यौन अपराध भएको घटना बाहिरिएपछि जिल्लामा महिला तथा बालिकाको सुरक्षा चुनौतीपूर्ण देखिएको छ। महिला हिंसा न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका बेला सार्वजनिक भएका यी घटनाले अभियानको प्रभावकारिता र महिला सुरक्षाका लागि भइरहेका प्रयासमाथि प्रश्न उठाएको छ। पछिल्ला घटनामा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासम्म पीडित बनेका छन्।
पछिल्लो घटना बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोकको हो। शनिबार राति करिब १० बजे कनकाई नगरपालिकाकी १९ वर्षीया युवती र उनकी १७ वर्षीया नातेदारमाथि यौन हिंसा भएको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार उनीहरू आफन्तकहाँ गएका बेला बुद्धशान्ति–३ का २९ वर्षीय मिलन खतिवडा र सोही ठाउँका २९ वर्षीय छचेन लिम्बूले दुवैलाई जबर्जस्ती तानेर एकान्तमा रहेको बाँसघारीमा पुर्याएका थिए। खतिवडाले १९ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गरेको र लिम्बूले १७ वर्षीया किशोरीमाथि करणी प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
किशोरी भाग्न सफल भएपछि होहल्ला भएको थियो। त्यसपछि दुवै आरोपित फरार भएका थिए। पीडितका बुबाले इलाका प्रहरी कार्यालय बुधबारेमा घटनाबारे जानकारी गराएपछि प्रहरी टोली परिचालन भएको थियो। इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक नकुलराज गौतमका अनुसार दुवै आरोपितलाई पक्राउ गरिएको छ।
घटनामा पीडित युवती बेहोस भएपछि उनलाई मेचीनगर आधारभूत अस्पताल धुलाबारीमा सामान्य उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। यसैगरी, मेचीनगरमा ६० वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेको आरोपमा ४६ वर्षीय तिलक श्रेष्ठ पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–९ लीलाबस्तीका श्रेष्ठविरुद्ध पीडितले मंसिर १० गते इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएकी थिइन्।
प्रहरीका अनुसार बुधबार राति वृद्धा आफ्नै घरमा सुतिरहेको अवस्थामा श्रेष्ठले जबर्जस्ती करणी गरेको आरोप छ। जाहेरीपछि घरबाटै पक्राउ परेका उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
शिवसताक्षीमा चार वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय हर्कबहादुर तिवारी पक्राउ परेका छन्। शिवसताक्षी नगरपालिका–११ का तिवारीले मंसिर ६ गते बिहान बालिकाकै घरको कोठामा ललाईफकाई जबर्जस्ती करणी गरेको भन्दै आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा मंसिर ७ गते राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले तिवारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार बालिकाको अवस्था सामान्य छ। उनी आमासँगै घरमा रहेकी छन्। यस्तै, मेचीनगर नगरपालिका–१५ मा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४१ वर्षीय अरुणकुमार श्रेष्ठ पक्राउ परेका छन्। बालिकाका बुबाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो।
प्रहरीका अनुसार मंसिर ५ गते साँझ घरमा कोही नभएको मौका छोपी श्रेष्ठले बालिकामाथि यौन दुर्व्यवहार गरेका थिए। पक्राउ परेका आरोपित र पीडित दुवैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। आरोपित यसअघि पनि पक्राउ परेको प्रहरीको भनाइ छ।
यसैबीच, शिवसताक्षीमा १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा २५ वर्षीय बनेश्वर सोरेन पक्राउ परेका छन्। शिवसताक्षी नगरपालिका–४ बिशुवाडुब्बाका सोरेनले कात्तिक २९ गते राति शिवसताक्षी–५ स्थित जनता बजार पूर्वको एक खेतमा डरत्रास देखाएर किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप छ।
घटनाबारे पीडितका आफन्तले मंसिर १ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी नायब निरीक्षक लालबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले सोरेनलाई पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान भइरहेको छ।
महिला तथा बालिकामाथि भएका यी घटनाले घर, समुदाय र सार्वजनिक स्थलसमेत उनीहरूका लागि सुरक्षित हुन नसकेको देखाएका छन्। लैङ्गिक हिंसाविरुद्ध अभियानका क्रममा जनचेतनामूलक कार्यक्रम भइरहे पनि यस्ता गम्भीर प्रकृतिका अपराध दोहोरिनुले सचेतना, रोकथाम र पीडितको सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।





