काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई कुनै राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने छुट नरहेको बताएका छन् । उनले कर्मचारीको मुख्य जिम्मेवारी देश र जनताको सेवा गर्नु भएको भन्दै पदीय मर्यादाविपरीत राजनीतिक गतिविधिमा संलग्न हुनेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक केही दिनअघि रुस भ्रमणबाट फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा एक कर्मचारी स्वागतका लागि पुगेको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।
उक्त घटनापछि सम्बन्धित कर्मचारी पक्राउ परेका थिए। यही प्रसंगमा गृहमन्त्री गुरुङले कर्मचारीतन्त्रमा राजनीतिक दल र नेताप्रतिको अनावश्यक निष्ठाभन्दा पदीय जिम्मेवारी र जनसेवालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
गुरुङले आफूहरू सरकारमा आएदेखि नै राष्ट्रसेवक कर्मचारीको भूमिका स्पष्ट पार्दै आएको उल्लेख गरेका छन् । कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने भएको उनको भनाइ छ ।
हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने,’ उनले भनेका छन्।
पटकपटक स्पष्ट पार्दासमेत राजनीतिक दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्याग्नुपर्ने उनको चेतावनी छ ।पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनले बताएका छन् ।
‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो,’ गुरुङले भनेका छन् ।





