पथरी शनिश्चरे,।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित ओम सियार जम्मुलिङ बज्र गुम्बाले करोड रुपैयाँभन्दा बढी मूल्यका तीनवटा विशेष धार्मिक प्रतिमा प्राप्त गर्ने भएको छ।
काठमाडौं निवासी विकास थोकर तामाङले गुम्बालाई उपहारस्वरूप तीनवटा प्रतिमा प्रदान गर्न लाग्नुभएको गुम्बाका सल्लाहकार चन्द्रकुमार घिसिङले जानकारी दिनुभयो।
तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले समुदायको लगानीमा निर्माण भइरहेको गुम्बामा हालसम्म प्रतिमाहरू स्थापना गरिएका थिएनन्। निर्माणाधीन अवस्थामै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको गुम्बामा अब तीनवटा विशेष प्रतिमा स्थापना गर्न लागिएको हो।
नेपाल तामाङ लामा घेदुङ संघीय अध्यक्ष लामा पाल्देन योञ्जनको संयोजनमा विकास थोकर तामाङले प्रतिमा प्रदान गर्न लागेको गुम्बाका सचिव सविन योञ्जनले बताउनुभयो।
गुम्बालाई अमिताभ बुद्ध, गुरु रिन्पोछे र चेन्रेसीका प्रतिमा प्राप्त हुनेछन्। ती प्रतिमा मङ्सिर ८ गते विशेष पूजाआजासहित स्थापना गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष प्रेमप्रसाद तामाङले जानकारी दिनुभयो। सोही अवसरमा प्रतिमा प्रदान गर्ने थोकर तामाङलाई विशेष सम्मानसमेत गरिने आयोजकले जनाएको छ।
चार दिनसम्म सञ्चालन हुने धार्मिक कार्यक्रममा मङ्सिर ८ गते निराहार ञ्यूङने व्रत, ९ गते शील ग्रहण, १० गते मौन व्रत र ११ गते त्रिमूर्ति अनावरण तथा धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरिने सल्लाहकार घिसिङले बताउनुभयो।
त्रिमूर्ति अनावरण कार्यक्रम कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाको प्रमुख आतिथ्यतामा हुने तयारी गरिएको छ। कार्यक्रममा गुम्बा निर्माणमा सहयोग पुर्याउने दाताहरूलाई प्रत्येक दिन सम्मान गर्ने कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ।
पथरीको गुम्बालाई करोडभन्दा बढी मूल्यका तीन बुद्ध प्रतिमा उपहार
- भोजराज घिमिरे





