तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गामा आयोजित दीपावली मेला २०८३ अन्तर्गत पुरुष फुटबलको उपाधि आठराई–१ लिसिबुङ र महिला फुटबलको उपाधि ओएइएस आठराई त्रिवेणी–२ फूलबारीले जितेका छन् ।
बिहिबार सम्पन्न पुरुष फुटबलको फाइनलमा लिसिबुङले हुक्पा चोङबाङ एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै, महिला फुटबलको फाइनलमा ओएइएस फूलबारीले पोखरी माध्यमिक विद्यालय छातेढुङ्गालाई समान १–० गोलले हराउँदै विजयी बनेको छ ।
उपाधिसँगै पुरुषतर्फ लिसिबुङले एक लाख ७५ हजार र उपविजेता हुक्पा चोङबाङ एफसीले एक लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । महिला फुटबलतर्फ विजेता फूलबारीले ८० हजार र उपविजेता पोखरी माविले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्तिक २७ गतेदेखि संचालन भएको मेलामा पुरुष फुटबलतर्फ १५ र महिला फुटबलतर्फ ६ टिमको सहभागिता रहेको थियो । फुटबलसँगै ब्याडमिन्टन, बुद्धिचाल तथा धाननाच प्रतियोगितासमेत आयोजना गरिएको थियो ।
हरेक वर्ष दीपावलीपछि आयोजना हुँदै आएको मेलाका लागि यस वर्ष आठराई गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । स्थानीय सहयोगी दाताबाट समेत आर्थिक सहयोग जुटाएर आयोजना गरिएको मेला बिहिबार विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।





