रौतहट / प्रहरी संगठनभित्र दर्जाका आधारमा तल्लो तहका कर्मचारीमाथि कस्तो व्यवहार गरिन्छ भन्ने विषयलाई रौतहटमा सार्वजनिक भएको एउटा अडियोले फेरि बहसमा ल्याएको छ ।

आफ्नो छोरा हराएको जानकारी सम्बन्धित कार्यालयमा टिपाउन फोन गरेका एक प्रहरी हवल्दारले उल्टै सञ्चारमा कार्यरत प्रहरीको गालीगलौज र अपमानजनक व्यवहार सहनुपरेको अडियो सार्वजनिक भएको हो ।

 

सार्वजनिक अडियोमा छोराको खोजीका लागि आवश्यक जानकारी गराउन खोजिरहेका प्रहरी हवल्दार सुरेश प्रसाद यादवलाई सञ्चारमा कार्यरत प्रहरीले पटक–पटक हप्काएको, थर्काएको र अश्लील शब्द प्रयोग गर्दै गाली गरेको सुनिन्छ

रौतहटको डुमरिया बेसमा कार्यरत हवल्दार यादवले जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा फोन गरेका थिए ।  फोन उठाउने प्रहरीले सुरुमा उनी को हुन् र कहाँबाट बोलेको भनेर सोध्छन् । यादवले आफू हवल्दार भएको र डुमरियाबाट बोलेको बताउँदै सञ्चारमा असई वा हवल्दार को कार्यरत हुनुहुन्छ भनेर सोध्छन् । तर, सञ्चारमा रहेका प्रहरीले उनको बोल्ने शैलीमाथि प्रश्न उठाउँदै हप्काउन थाल्छन्।

 

अडियोमा भएको संवाद यस्तो छ

 

सञ्चार : कहाँ फोन गर्नुभयो तपाईंले ?

हवल्दार यादव : सञ्चारमा फोन गरेको, गौर सञ्चारमा।

सञ्चार : कहाँबाट, को बोल्नुभयो ?

हवल्दार यादव : म सुरेश प्रसाद यादव।

सञ्चार : अनि के भयो त ?

हवल्दार यादव : असई साब हुनुहुन्छ ?

सञ्चार : बोल्ने तरिका त्यही हो ?

हवल्दार यादव : म हवल्दार साब बोलिरहेको छु। यहाँ सञ्चार भनेर लेखेको छ। कन्ट्रोलमा फोन गरेको सर। यहाँ असई साब हुनुहुन्छ कि हवल्दार साब ?

सञ्चार : जो भए पनि तालुकदार कार्यालयमा बोल्दा ‘को बोल्नुभयो, तपाईं को हो’ भनेर सोध्ने।

हवल्दार यादव : म हवल्दार साब हो। हवल्दार साब हो कि असई साब हो कि भन्न मिल्दैन सर ?

सञ्चार : मिल्दैन।

हवल्दार यादव : के भन्न मिल्छ सर ?

सञ्चार : केही पनि भन्न मिल्दैन।

हवल्दार यादव : दर्जा भन्न मिल्दैन सर हामीलाई ?

सञ्चार : मिल्दैन।

हवल्दार यादव : एउटा जानकारी गराउन खोजिरहेको छु मैले।

सञ्चार : जानकारी गराउनु छ भने सई सलामतले बोल्नुपर्‍यो नि।

त्यसपछि पनि यादवले आफूले सामान्य जानकारी लिन खोजेको बताउँदै सञ्चारमा को कार्यरत हुनुहुन्छ भनेर सोधिरहन्छन्। तर, सञ्चारमा रहेका प्रहरीले उनको परिचय दिने तरिकामै असन्तुष्टि जनाउँदै थप हप्काउँछन्।

सञ्चार : अनि तपाईं के बोल्नुभयो त ?

हवल्दार यादव : म हवल्दार साब बोलिरहेको छु।

सञ्चार : अनि को बोल्नुभयो ? के हो तरिका ? ‘जय नेपाल, म फलानो’ भन्न सकिँदैन त ?

हवल्दार यादव : सर, म त त्यही हवल्दार साब हो कि, असई साब हो कि, सिपाही साब हो कि बस्नुहुन्छ त्यहाँ भनेर सोधेको नि।

सञ्चार : अनि तिमी हवल्दार भए ठूलो भयो त त्यहाँ ? कहाँबाट बोलेको हो ?

हवल्दार यादव : होइन, हवल्दार भए ठूलो होइन। म यहाँ डुमरियाबाट बोलेको।

सञ्चार : यहाँ आइज, तेरो नाम के हो ?

हवल्दार यादव : मेरो नाम सुरेश यादव हो।

सञ्चार : ल, रुक।

त्यसपछि सञ्चारमा कार्यरत प्रहरीले सञ्चार सेटमार्फत डुमरियाका सुरेश प्रसाद यादवबारे सोधखोज गर्न थाल्छन्। त्यही क्रममा उनले प्रयोग गरेको भाषा झन् अशोभनीय सुनिन्छ।

सञ्चार : डुमरियाको सुरेश प्रसाद यादव कोही छ ?

हवल्दार यादव : हामी बेसको हवल्दार साब हो।

सञ्चार : तँ मु……….बेसको भए म अन्तर्राष्ट्रियको हो साल।

हवल्दार यादव : होइन सर, सुन्नु न सर।

सञ्चार : बढी बोल्छस्।

त्यसपछि हवल्दार यादवले आफूले कुनै गल्ती नगरेको र जानकारी गराउन खोज्दा उल्टै गाली खानुपरेको भन्दै आफ्नो समस्या सुनाउँछन्।

हवल्दार यादव :केही बोलेको छैन सर। मेरो छोरा हराएको छ, टिपोट गराउन खोज्दै छु। मलाई उल्टै गाली गर्नुहुन्छ सर ।
अडियोको यो अंशले घटनालाई झनै संवेदनशील बनाएको छ। आफ्नो सन्तान हराएको अवस्थामा त्यसको जानकारी प्रहरी

कार्यालयमा गराउन खोजेका एक प्रहरी कर्मचारीले आफ्नै संगठनका अर्का कर्मचारीबाट यस्तो व्यवहार भोग्नुपरेको सुनिन्छ।
अडियोमा हवल्दार यादवको आवाज निकै संयमित र डराएको सुनिन्छ भने सञ्चारमा कार्यरत प्रहरीको आवाजमा आक्रोश, हप्कीदप्की र अपमानजनक शब्द प्रयोग भएको प्रस्ट सुनिन्छ।

प्रहरी संगठनमा तल्लो दर्जाका कर्मचारीले माथिल्लो दर्जाका कर्मचारीसँग कसरी बोल्ने र व्यवहार गर्ने भन्ने अनुशासनका आफ्नै नियम होलान्। तर, एउटा प्रहरी कर्मचारीले व्यक्तिगत समस्यासहित अत्यावश्यक जानकारी गराउन खोज्दा पदीय मर्यादाका नाममा अपमानजनक भाषा प्रयोग गर्नुले संगठनभित्रको व्यवहार र कार्यसंस्कृतिमाथि प्रश्न उठाएको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले हवल्दार र सञ्चारमा कार्यरत प्रहरीबीचको फोन संवादबारे जानकारी आएको र छानबिन भइरहेको बताएका छन्। उनले घटनामा दोषी देखिने प्रहरी कर्मचारीमाथि कारबाही हुने पनि बताएका छन्।

तपाईको प्रतिक्रिया