नौरते नेपाली
जुम्ला, मङ्सिर ५ गते । जुम्लामा सरकारी नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । दुर्घटनामा चन्दननाथ नगरपालिका–७ महतगाउँका ४२ वर्षीय हेमबहादुर महतको मृत्यु भएको हो ।
शुक्रबार साँझ करिब ६ बजेतिर चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकमा जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले पैदल हिँडिरहेका महतलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते हुनुभएका महतलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पु¥याइएको थियो । तर, उपचारकै क्रममा साँझ ७ बजेतिर चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएपछि प्रहरीले खोजी गरिरहेको छ । ठक्कर दिने मोटरसाइकल जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । सरकारी मोटरसाइकल तिला गाउँपालिका जुम्लाको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ ।





