विराटनगर २४ भदौ । ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाउने युवाको शोकमा विराटनगर महानगरपालिकाले आज मंगलबार शोक विदा दिने निर्णय गरेको छ ।
अत्यावश्यक सेवाबाहेक विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक विदा दिने निर्णय गरेको महानगरले जनाएको छ । भ्रष्टाचार अन्त्य, बन्द गरिएका सामाजिक सञ्जाल पुनः सञ्चालन, अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका ‘जेन–जी’ पुस्ताका युवामाथि भएको दमनका कारण १९ होनहार विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति स्तब्ध र मर्माहत बनेको मेयर नागेश कोइरालाद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।
महानगरले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारमा तत्काल ध्यान दिन पनि सरकारसँग अपिल गरेको छ ।
‘जेन–जी’ समूहले अघि सारेका जायज मागहरूलाई समर्थन गर्दै यथासक्य सम्बोधनका लागि संघीय सरकारलाई आग्रह गरिएको छ । विधिको शासन, स्वतन्त्र न्यायपालिका र अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतान्त्रिक मूल्यहरूप्रति प्रतिबद्धता जनाउँदै महानगरले नागरिकको आवाजलाई सम्मानपूर्वक सुन्न सरकारसँग अनुरोध गर्दछु,’ महानगर मेयर कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनरत पक्षलाई संयमित, मर्यादित र अहिंसात्मक तरिकाबाट आन्दोलन अघि बढाउन आग्रह गर्दै महानगर मेयर कोइरालाले सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबै नागरिक जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका छन् । उनले ‘जेन–जी’ ले उठाएका जायज मागलाई महानगर प्रमुखका तर्फबाट समर्थन गर्दै यथासक्य सम्बोधन गर्न आग्रह गरेका छन् ।
‘नागरिकको आवाजलाई सुन्ने लोकतान्त्रिक मूल्यको सम्मान गर्दै जायज मागसहितको शान्तिपूर्ण आन्दोलनप्रति संवेदनशील भएर जिम्मेवार र दूरदर्शितापूर्ण व्यवहार प्रदर्शन गर्न पनि सरकारलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी समूहले अघि सारेका जायज मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्दै समस्याको दीर्घकालीन समाधान खोज्न र थप मानवीय एवम् भौतिक क्षति हुनबाट रोक्न तत्काल ठोस कदम चाल्न सरकारसमक्ष विशेष अनुरोध गर्दै आन्दोलनमा संयमता अपनाउन हार्दिक अपिल गर्दछु ।’





