लीलाराज खड्का

झापा, कात्तिक १७ गते । तिहार नजिकिएसँगै भारतबाट अवैध रूपमा पटका भित्रिने क्रम सुरु भएको छ । प्रहरीले झापाका विभिन्न स्थानबाट करिब एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटका बरामद गरेको छ ।

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालतर्फ ल्याइँदै गरेका पटका प्रहरीले सोमबार झापा गाउँपालिका–२ कुवाडी र भद्रपुर बजार क्षेत्रबाट बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार झापा गाउँपालिका–२ कुवाडीस्थित सीमा क्षेत्रमा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त गस्ती टोलीले दुई बोरा पटका बरामद गरेको हो ।

प्रहरी नायब निरीक्षक सुवास ढुङ्गानाको नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको करिब एक लाख रुपियाँ मूल्य बराबरका विभिन्न प्रकारका पटका बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीलाई देखेपछि पटका ल्याउने व्यक्ति बोरा छाडेर फरार भएका थिए । बरामद गरिएका पटका आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ ।

यसैगरी, सोमबार बिहान भद्रपुर बजारस्थित एक झाडीमा लुकाइराखेको करिब ५० हजार रुपियाँ मूल्य बराबरको पटका प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको संयुक्त टोलीले जगमग चकलेट पटका १०० प्याकेट बरामद गरेको हो ।

बरामद गरिएका पटका वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ ।

तिहार र छठ पर्वलाई लक्षित गरी झापाका सीमा नाकाबाट पटका तथा अन्य विस्फोटक पदार्थ अवैध रूपमा भित्रिन थालेपछि प्रहरीले निगरानी र नियन्त्रण अभियानलाई तीव्र बनाएको छ ।

तपाईको प्रतिक्रिया