नेपालगन्ज – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।
गौतमको १३औँ दिनको पुण्यतिथिमा एमाले बाँके जिल्ला कमिटीले सोमबार आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले गौतमलाई सादगीपूर्ण जीवनशैली, निष्ठापूर्ण राजनीतिक यात्रा र जनतामाझ लोकप्रिय व्यक्तित्वका रूपमा स्मरण गरे। मुख्यमन्त्री आचार्यले बाँके जिल्ला पार्टीले एक सच्चा, इमानदार र कर्तव्यनिष्ठ अभिभावक गुमाएको उल्लेख गर्दै गौतमले अघि सारेका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अधुरा काम पूरा गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले गौतमप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्ने माध्यम उनका विचार, सिद्धान्त र योगदानलाई व्यवहारमा निरन्तरता दिनु भएको बताए।
प्रदेश सभामा पाँच वर्षसम्म गौतमसँग सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले उनलाई नजिकबाट चिन्ने र सिक्ने अवसर प्राप्त भएको बताए। गौतमले आफूलाई सधैँ अभिभावकको रूपमा मार्गदर्शन गरेको उल्लेख गर्दै उनले राजनीतिक जीवन, संघर्ष र समाजप्रतिको समर्पणबाट धेरै कुरा सिक्न सकिने बताए।
गौतममा लुम्बिनी प्रदेश र विशेषगरी बाँके जिल्लाको विकासप्रति गहिरो चिन्ता र चासो रहेको मुख्यमन्त्री आचार्यले स्मरण गरे। संगठन निर्माण, विकास निर्माण तथा सामाजिक कार्यलाई अघि बढाउन अतुलनीय भूमिका निर्वाह गरेको भन्दै मुख्यमन्त्री आचार्यले उनले देखाएको मार्गलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
गुल्मीको थोर्गामा जन्मिएर बाँकेलाई कर्मथलो बनाएका गौतमले राजनीतिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदान सधैँ स्मरणीय रहने मुख्यमन्त्री आचार्यको भनाइ थियो।
नेकपा एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङको अध्यक्षता सम्पन्न सभामा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।





