विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अष्ट्रेलिया प्रस्थान गरेका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियालगायत विभिन्न नेपाली समुदायका संघ–संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन कोइराला बिहीबार राति अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

महानगरपालिकाका अनुसार अष्ट्रेलिया बसाइका क्रममा मेयर कोइरालाले विराटनगर–८ मा सञ्चालनको तयारी भइरहेको अनाथाश्रमका लागि आवश्यक सहकार्य र स्रोत परिचालनमा पहल गर्नेछन् । यस विषयमा अष्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक संस्था तथा सम्भावित दाताहरूसँग छलफल गरिने जनाइएको छ ।अष्ट्रेलिया भ्रमणमा उनले सिड्नी, मेलबर्नलगायतका सहरहरूमा आयोजना हुने विभिन्न अन्तरक्रिया, सम्मेलन तथा भेटघाट कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ । विशेषगरी अष्ट्रेलियामा रहेका नेपालीहरूबीच विराटनगरको समग्र विकासका लागि सहयोग जुटाउने उद्देश्यका साथ उनले आफ्ना प्रस्तावहरू राख्ने मेयर कोइरालाका स्वकीय सचिव डिकप्रसाद घिमिरेले जानकारी दिए ।मेयर कोइराला यसअघि इजरायलको भ्रमणमा समेत गएका थिए । त्यहाँ उनले कृषि, पूर्वाधार तथा सहरी विकासका विविध पक्षमा अध्ययन भ्रमण गरेका थिए । इजरायल–इरान युद्धका कारण मेयर कोइराला भ्रमण छोट्याएर फर्किएका थिए ।यसअघि मेयर कोइरालाको अष्ट्रेलिया भ्रमणलाई औपचारिक बनाउँदै उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेललगायत महानगरका कर्मचारीहरूले काठमाडौं प्रस्थानअघि बुधबार कार्यालयमा विदाई गरेका थिए ।

तपाईको प्रतिक्रिया