मोरङ । सशस्त्र प्रहरी बल, नेपालले मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित नगर अस्पताल परिसरमा स्थानीय बासिन्दालाई लक्षित गरी स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी, मोरङ र एपीएफ फिल्ड अस्पताल पकली, सुनसरीको आयोजना तथा बुढीगंगा गाउँपालिका–३ स्थित नगर अस्पतालको सहकार्यमा शनिबार आयोजित शिविरमा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण, बीएमआई (BMI) परीक्षण तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको थियो।

शिविरबाट स्थानीय ११३ जना लाभान्वित भएको सशस्त्र प्रहरीले जनाएको छ। शिविरमा स्वास्थ्य परीक्षणसँगै स्वस्थ जीवनशैली, पोषण तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारीसमेत दिइएको थियो।

यसैगरी, सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत स्थानीय नागरिकलाई सीपमूलक तालिमसमेत प्रदान गरिएको छ। नं. ३ गण हेडक्वार्टर कंकालिनी, मोरङमा साउन ३१ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको सात कार्यदिने वेल्डिङ तालिममा १३ जना स्थानीय नागरिक सहभागी भएका थिए।

तालिममा सहभागीलाई वेल्डिङसम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गर्दै तालिमको समापन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। स्थानीय नागरिकसँगको सम्बन्ध थप सुदृढ गर्दै उनीहरूको स्वास्थ्य, सुरक्षा र सीप विकासमा सहयोग पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया