उर्लाबारी। मोरङको रतुवामाई नगरपालिकाको पशुपंक्षी सेवा शाखाले आर्थिक वर्ष २०८२/८३ मा पशु नश्ल सुधार, स्वास्थ्य उपचार, रोग नियन्त्रण, खोप तथा मत्स्यपालन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

शाखाले सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरणअनुसार चालु आर्थिक वर्षमा ४२ हजार ५सय६० पशुपंक्षीलाई विभिन्न रोगविरुद्धको खोप सेवा प्रदान गरिएको छ। राष्ट्रिय खोप अभियानअन्तर्गत खोरेत रोग नियन्त्रणका लागि दुई चरणमा २० हजार ४सय१८ गाईभैँसी तथा तिनका पाठापाठीलाई खोप लगाइएको छ। त्यस्तै, १३ हजार ६सय२४ बाख्रालाई पीपीआर विरुद्ध र ८ हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। बंगुर तथा सुँगुरमा क्लासिकल स्वाइन फिभरविरुद्ध ५ सय १८ डोज खोप लगाइएको शाखाले जनाएको छ।
कृत्रिम गर्भाधान मिशन कार्यक्रमअन्तर्गत नगरभित्रका आठ सरकारी र आठ निजी गरी १६ जना प्राविधिक मार्फत ३ हजार ७सय६९ पशुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ। यसबाट गाई ३ हजार ४सय८६, भैँसी २सय५४ र बाख्रा २३ वटामा नश्ल सुधार सेवा पुर्‍याइएको छ।

पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रयोगशाला परीक्षणका लागि ७सय २८ पशुको गोबर परीक्षण र १० वटा पशुको दूध परीक्षण गरिएको छ। खोपको प्रभावकारिता परीक्षणका लागि ७२ पशुको रगतको नमुना संकलन गरी प्रेषण गरिएको छ। परजीवी नियन्त्रणका लागि गाई, भैँसी, बाख्रा, बंगुर, कुकुर र कुखुरासहित ५ हजार ८सय९९ पशुपंक्षीमा औषधि उपचार गरिएको छ।त्यस्तै, आकस्मिक उपचार सेवाअन्तर्गत घरदैलोमै पुगेर १ हजार ८सय५३ पशुपक्षीको रोग परीक्षण, नमुना संकलन तथा उपचार गरिएको छ। यस क्रममा गाई २सय१८, भैँसी २सय१४, बाख्रा २सय२४, बंगुर ५१, कुखुरा १ हजार १सय र कुकुर ४६ वटामा सेवा पुर्‍याइएको छ।

रेबिज रोग नियन्त्रण कार्यक्रमअन्तर्गत नगरपालिकाका तीन स्थानमा शिविर सञ्चालन गरी २सय१८ वटा घरपालुवा तथा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ। शाखाको नियमित कार्यक्रम अन्तर्गत कुकुर तथा बिरालोलाई २सय१० डोज प्रि-बाइट खोप र कुकुरले टोकेपछि पशुहरूलाई २सय१ डोज पोस्ट-बाइट खोप लगाइएको विवरणमा उल्लेख छ।

ठूला पशुको उपचारका लागि काउ लिफ्टर उपकरणसमेत प्रयोग गरिएको छ। चारवटा उपकरणमार्फत ४० जना सेवाग्राहीलाई सेवा प्रदान गर्दै २९ वटा गाईको सफल उपचार गरिएको छ। उपकरण प्रयोग गरेर उपचार प्रयास गरिएका अन्य ११ वटा गाईको भने विभिन्न रोगका कारण मृत्यु भएको शाखाले जनाएको छ।
पशुपंक्षी बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रममा ३३ जना कृषक सहभागी भएका थिए। त्यस्तै, मत्स्यपालन सम्बन्धी एकदिने तालिममा दुई जना मत्स्य विज्ञबाट प्रशिक्षण दिइएको थियो। उक्त तालिममा ४० जना मत्स्यपालक कृषक सहभागी भएका थिए।
मत्स्यपालन प्रवर्द्धनका लागि नगरपालिकाले मागका आधारमा ६ हजार ५सय२० किलो चुन खरिद गरी चार कृषक समूह र २० व्यावसायिक मत्स्य फर्मलाई वितरण गरेको छ। पोखरीमा माछाको उपचारका लागि तीन कृषक समूह र सात व्यावसायिक मत्स्य फर्मलाई पोटासियम परम्यागनेटसमेत वितरण गरिएको छ।
यसैगरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ, विराटनगरसँग समन्वय गरी विज्ञसहित स्थलगत मत्स्य उपचार सेवा सञ्चालन गरिएको छ। रतुवामाइ नगरप्रमुख नागेश्वरप्रसाद सिंहको उपस्थितिमा २३ जना मत्स्यपालक कृषकलाई पोखरीको स्वास्थ्य अवस्था र समस्याका आधारमा औषधि वितरण तथा प्राविधिक परामर्श प्रदान गरिएको छ।
नगरपालिकाको पशुपंक्षी सेवा शाखाले पशुपालक कृषकलाई सहज रूपमा सेवा उपलब्ध गराउने, पशुमा लाग्ने रोग नियन्त्रण गर्ने, उन्नत नश्ल विकास गर्ने तथा मत्स्यपालनलाई व्यावसायिक बनाउने उद्देश्यले यी कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख शशिराज खड्काले जानकारी दिएका छन्।

-राष्टिय समाचारपत्रको सहयोगमा

तपाईको प्रतिक्रिया