विराटनगर / विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र विराट व्यापार संघबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतासँगै विराट व्यापार संघमा आबद्ध सदस्य, उनीहरूका आश्रित परिवारका सदस्य तथा संघअन्तर्गतका व्यवसायिक फर्म तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीले हस्पिटलबाट प्रवाह हुने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। सम्झौताअनुसार हस्पिटलका विभिन्न स्वास्थ्य जाँच तथा उपचार सेवामा अधिकतम २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साधारण बेड शुल्कदेखि एमआरआई, सीटी स्क्यान, एन्जियोग्राफी, शल्यक्रिया तथा अन्य उपचारात्मक सेवामा समेत छुटको व्यवस्था गरिएको हस्पिटल प्रशासनले जनाएको छ।
हस्पिटल प्रशासनले उत्कृष्ट र अत्याधुनिक स्वास्थ्य प्रविधिलाई समाजका विभिन्न वर्गसम्म सहज रूपमा पुर्याउने उद्देश्यअनुसार विराट व्यापार संघसँग सहकार्य गरिएको जनाएको छ। यस सहकार्यबाट स्थानीय उद्योगी–व्यवसायी, उनीहरूका परिवार तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन आर्थिक रूपमा सहज हुने अपेक्षा गरिएको छ। विराट व्यापार संघका पदाधिकारीहरूले हस्पिटलको कल्याणकारी पहलको प्रशंसा गर्दै सम्झौताले संघका सदस्य, आश्रित परिवार तथा कर्मचारीलाई ठूलो आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।
विराटनगरको मुटुमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले स्थापनाकालदेखि नै जटिल तथा गम्भीर रोगको उपचार गर्दै आएको छ। विशेषगरी न्युरो तथा कार्डियोसम्बन्धी उपचारमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको हस्पिटलले कोशी तथा मधेश प्रदेशका नागरिकलाई सेवा दिँदै आएको जनाएको छ।







