राधा लुइटेल
फिदिम, भदौ १ गते । पाँचथरमा स्वास्थ्य सेवा विस्तारका लागि संरचना थपिँदै गए पनि सेवाको उपयोग भने घट्दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय पाँचथरले फिदिममा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनले खोप, गर्भजाँच, संस्थागत प्रसूति तथा बहिरङ्ग सेवासम्बन्धी प्रमुख सूचक अघिल्लो वर्षको तुलनामा कमजोर बनेको देखाएको हो।
जिल्लाका आठवटै स्थानीय तहमा स्वास्थ्य संस्था मातहत ३६ बर्थिङ सेन्टर, २२८ खोप क्लिनिक, १७४ प्राथमिक स्वास्थ्य सेवा तथा बाह्य उपचार केन्द्र र ३९४ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रहेका छन्।
प्रतिवेदनले खोपका अधिकांश सूचक घटेको देखाएको छ। आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप पाउने बालबालिकाको दर ८८.३० प्रतिशत रहेकामा आर्थिक वर्ष २०८२/८३ मा ६८.९४ प्रतिशतमा झरेको छ। खोप क्लिनिक सञ्चालन दर भने ९३.६८ प्रतिशत रहेको छ। एउटा खोप क्लिनिकबाट सेवा लिने औसत संख्या पनि ७.४ बाट घटेर ६.१३ मा पुगेको प्रतिवेदनमा उल्लेख छ।
खोपका अन्य सूचक पनि घटेका छन्। बीसीजी खोपको पहुँच ६४.६६ प्रतिशतबाट ५६.३४ प्रतिशतमा, डिपिटीको तेस्रो मात्रा ८१.६१ प्रतिशतबाट ६९.५२ प्रतिशतमा तथा दादुरा–रुबेला पहिलो मात्रा ८१.८० प्रतिशतबाट ६९.०१ प्रतिशतमा झरेको छ।
मातृ स्वास्थ्यका सूचक पनि कमजोर देखिएका छन्। कम्तीमा एकपटक गर्भजाँच गराउने दर ७९.७६ प्रतिशतबाट ६९.४९ प्रतिशतमा र चारपटक गर्भजाँच गराउने दर ६४.८२ प्रतिशतबाट ५१.८१ प्रतिशतमा झरेको छ।
संस्थागत प्रसूति ४४.५१ प्रतिशतबाट घटेर ३८.४५ प्रतिशतमा पुगेको छ। दक्ष प्रसूतिकर्मीबाट गराइने प्रसूतिको दरसमेत २०.०९ प्रतिशतबाट १६.०३ प्रतिशतमा झरेको छ। प्रसूति भएको २४ घण्टाभित्र जाँच गराउने दर ४७.४२ प्रतिशतबाट ३९.४६ प्रतिशतमा पुगेको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने नयाँ बिरामीको सङ्ख्या पनि घटेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ८७ हजार ६८७ नयाँ बहिरङ्ग बिरामी रहेकामा २०८१/८२ मा ८२ हजार ५७१ र २०८२/८३ मा ७० हजार १६७ मा झरेका छन्। जनसङ्ख्याको तुलनामा नयाँ ओपीडी बिरामीको अनुपात ५०.५० प्रतिशतबाट ४३.५३ प्रतिशतमा झरेको हो।
वार्षिक समीक्षामा जनस्वास्थ्य अधिकृत लरेन्स साहले जिल्लाका स्वास्थ्य संस्थाहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रतिवेदनअनुसार पाँच वर्षमुनिका बालबालिकामा तीव्र श्वासप्रश्वास संक्रमणको दर प्रतिहजार ९७७.१६ बाट ७७०.६४ मा झरेको छ। निमोनियाको दर पनि ४५.६७ बाट २४.६ मा घटेको छ। झाडापखालाको दर २५१.६१ बाट १६५.१४ मा झरेको छ। झाडापखालाबाट प्रभावित बालबालिकालाई जिंक र जीवनजलमार्फत उपचार गर्ने दर भने ९३.९५ प्रतिशतबाट बढेर ९९.६८ प्रतिशत पुगेको छ।
स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले कमजोर अभिलेखीकरण तथा प्रतिवेदन प्रणाली, वास्तविक जनसङ्ख्यासँग लक्ष्य नमिल्ने अवस्था र संस्थागत प्रसूति कम हुनु प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो। बर्थिङ सेन्टरको पूर्वाधार विकास, दक्ष प्रसूतिकर्मीको तालिम तथा तथ्याङ्क प्रमाणीकरणमा सुधार गर्नुपर्ने उहाँको सुझाव छ।
समीक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख यामकुमार आङ्बोले स्वास्थ्य संस्थाको सेवालाई थप प्रभावकारी बनाएर सूचकमा देखिएका कमजोरी सुधार्न सर्वसाधारण, स्वास्थ्यकर्मी र नागरिक समाजको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभयो।







