विराटनगर, मोरङ — मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले स्त्रीरोग तथा प्रसूति सेवामा अझ प्रभावकारिता ल्याउने उद्देश्यले ५ वटा अत्याधुनिक अप्रेशन थिएटर थप गरेको छ। अस्पतालले मंगलबार एक कार्यक्रमको आयोजना गरी ती थिएटरहरूको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेबाट गराएको हो।

सन् २०१४ मा स्थापना भएको यस अस्पताललाई कोशी प्रदेशकै एक अग्रणी स्वास्थ्य संस्था मानिन्छ। हाल नेपालकै सबैभन्दा ठूलो १०० शय्याको आपतकालीन (इमरजेन्सी) विभाग यही अस्पतालमा सञ्चालनमा रहेको छ, जसमा स्त्रीरोग तथा प्रसूति सम्बन्धी आकस्मिक सेवा पनि समावेश छ।

यसअघिसम्म अस्पतालमा विभिन्न खालका शल्यक्रियाका लागि १९ वटा अप्रेशन थिएटर संचालनमा थिए। नयाँ पाँच थिएटर थपिएसँगै अब कुल २४ वटा थिएटरमार्फत सेवा प्रवाह हुने भएको छ। नयाँ निर्माण गरिएको भवनमा ती ५ वटा थिएटरसँगै २०० शय्याको स्त्रीरोग वार्ड, ३० वटा डिलक्स क्याबिन तथा छुट्टै गाइने आईसीयू सुविधा पनि थपिएको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए।

अस्पतालमा अहिले २० जना भन्दा बढी स्त्रीरोग तथा प्रसूति विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिइरहेका छन्। अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिबाट विभिन्न प्रकारका स्त्री तथा प्रसूति शल्यक्रिया गरिने सुविधा समेत यस अस्पतालमा उपलब्ध छ, जसले यस क्षेत्रका बिरामीहरूलाई गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्न मद्दत गरेको छ।

स्वास्थ्य सेवा मात्र होइन, अस्पतालले चिकित्सक, नर्स, कर्मचारी र बिरामीका आफन्तका लागि खानपानमा समेत सुधार ल्याउने उद्देश्यले ‘विराट खाजा घर’ नामक आधुनिक भोजनालय पनि संचालनमा ल्याएको छ। यो सेवा अस्पतालको तल्लो तलामा सुरु गरिएको हो।

उद्घाटन समारोहमा प्रमुख अतिथि उपकुलपति प्रा.डा. वाग्लेसँग अस्पतालमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरूले अभिमुखिकरण सत्रमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याबारे आफ्ना धारणा राखेका थिए। उपकुलपतिले अस्पतालले बिरामीलाई उत्कृष्ट सेवा दिँदै आएको भन्दै भविष्यमा पनि यस्तो स्तर कायम राख्दै अझ नयाँ मापदण्ड स्थापित गर्न सुझाव दिए।

विराट टिचिङ्ग हस्पिटलको यो नयाँ विस्तारले कोशी प्रदेशमै नभई, देशभरकै स्त्रीरोग तथा प्रसूति सेवामा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया