धुलिखेल । काभ्रे जिल्लामा सञ्चालित आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको अवस्था, उपलब्धि र आगामी कार्ययोजनाबारे समीक्षा गर्दै जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेको आयोजनामा शुक्रबार (२०८३ कात्तिक १३ गते) जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्य तथा धुलिखेल नगरपालिकाका प्रमुख निरञ्जन जंगमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेका कार्यालय प्रमुख डा. अर्जुन उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य प्रमुख रागीश्री कक्षपति श्रेष्ठ, मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामशरण श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तह अन्तर्गत सञ्चालित आयुर्वेद सेवा तथा कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो। प्रस्तुतिका क्रममा सेवा प्रवाहको अवस्था, कार्यसम्पादन, उपलब्धि, समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा समीक्षा गरिएको थियो । समीक्षाका क्रममा कार्यसम्पादनका आधारमा धुलिखेल नगरपालिका अन्तर्गत सञ्चालित धुलिखेल आयुर्वेद औषधालय उत्कृष्ट घोषित भएको छ ।

त्यसैगरी नागरिक आरोग्य केन्द्रतर्फ भुम्लु गाउँपालिका अन्तर्गत सञ्चालित केन्द्र उत्कृष्ट ठहरिएको कालाेटाेपी डटकमलाई प्राप्त समाचारमा उल्लेख छ। जिल्लास्तरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने, स्थानीय तहमा सञ्चालित कार्यक्रमलाई थप व्यवस्थित बनाउने तथा नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमले जिल्लामा आयुर्वेद सेवाको वर्तमान अवस्था पहिचान गर्न तथा आगामी दिनमा सेवा विस्तार र गुणस्तर सुधारका लागि योजना निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया