सौगात विष्ट
ताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ताप्लेजुङमा सिजनल सयपत्री फूल खेती तालिम सुरु भएको छ । सामाजिक न्यायको लागि महिला सञ्जाल ताप्लेजुङको आयोजनामा फूल खेती तालिम सुरु भएको हो ।
तालिममा जिल्लाका विभिन्न क्षेत्रका महिलाहरूको सहभागिता रहेको छ। तालिममार्फत सहभागी महिलाहरूलाई सयपत्री फूलको व्यावसायिक खेती, उत्पादन व्यवस्थापन, बजार व्यवस्थापन लगायतका विषयमा तालिम प्रदान गरिने महिला सञ्जाल ताप्लेजुङले जनाएको छ । महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने तथा व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
तालिमपछि सहभागी महिलाहरूले आफ्नै घर तथा खेतबारीमा फूल खेती गरी अतिरिक्त आम्दानी गरि महिला स्वरोजगार बन्ने विश्वास गरिएको छ । प्रमुख अतिथि फुङलिङ नगरपालिकाका नगर उपप्रमुख भीमा देवी ओझा, विशिष्ट अतिथि घरेलु तथा साना उद्योग कार्यालय प्रमुख लक्ष्मी सुहाङ र अन्य अतिथिहरूको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
फुङ्लिङ नगरपालिकाको आर्थिक सहयोग र हस्तकला सङ्घ ताप्लेजुङको समन्वय कार्यक्रमको सञ्चालन गरिएको हो ।







