काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्बजनिक गरेको हो । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।
जसअनुसार उद्घाटन खेलमा कार्तिक ९ गते लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन् । त्यस्तै लिग चरणको अन्तिम खेल कार्तिक २९ गते चितवन राइनोज र कर्णाली याक्स तथा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच खेल हुने भएको छ ।
त्यस्तै प्लेअफ अन्तर्गत पहिलो क्वालिफायर खेल मङ्सिर १ गते, इलिमिनेटरको खेल मङ्सिर २ गते र दोस्रो क्वालिफायर मङ्सिर ३ गते हुने तालिका क्यानले सार्बजनिक गरेको छ । त्यस्तै एनपीएलको फाइनल खेल मङ्सिर ५ गते हुने भएको छ ।
एनपीएलको यस सिजनमा ६ दिन एक खेल हुने छन् भने ११ दिन दुई खेल हुने छन् । त्यस्तै एक खेल हुने दिन खेल अपराहन्न साढे ४ बजे शुरु हुने छ । त्यस्तै दुई खेल हुने दिन पहिलो खेल दिउसो साढे १२ बजे र दोस्रो खेल अपराहन्न साढे ४ बजेदेखि शुरु हुने क्यानले जानकारी दिएको छ ।





