काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन सचिव मदन दाहालविरुद्ध बीमासम्बन्धी कसुरमा मुद्दा दायर भएपछि उनी दुई दिनदेखि सम्पर्कविहीन रहेको स्रोतले जनाएको छ।
नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षसमेत रहेका दाहालविरुद्ध बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ। उक्त मुद्दामा दीपक भट्ट, ओझासहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। अदालतबाट उनीहरूविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको बताइएको छ।
दाहाल यसअघि आन्तरिक राजस्व विभागका महानिर्देशकका रूपमा कार्यरत थिए। पछि उनी सुदूरपश्चिम प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन सचिवका रूपमा कार्यरत छन्।
बीमा प्राधिकरणमा रहँदा भएका निर्णय तथा गतिविधिसँग सम्बन्धित विषयमा अनुसन्धानपछि उनीविरुद्ध मुद्दा दायर भएको हो। मुद्दा दर्तापछि उनी सम्पर्कमा नरहेको र उनको अवस्थाबारे सम्बन्धित निकायले खोजी गरिरहेको स्रोतको दाबी छ।
यद्यपि, दाहालविरुद्ध लगाइएका आरोपहरू अदालतबाट अन्तिम रूपमा प्रमाणित भइसकेका छैनन्। मुद्दा हाल न्यायिक प्रक्रियामा रहेको छ।







