काठमाडौँ, जेठ ३१ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्र समेटेर १०१ बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति प्रस्ताव गरेको हो ।
राष्ट्रिय सभा गृहमा आइतबार आयोजित नगर सभाको १९ औँ अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त नीति तथा कार्यक्रम पेस गर्नुभएको हो । चालू आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुन नसकेका बहुवर्षीय कार्यक्रमहरूलाई निरन्तरता दिँदै महानगरको दीर्घकालीन सोच, उद्देश्य र योजनालाई नीतिमा समेटिएको छ ।
प्रस्तावित नीति तथा कार्यक्रममाथि आगामी असार १ गते बस्ने नगर सभाको बैठकमा विस्तृत छलफल हुने कार्यतालिका छ । आगामी वर्षको कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, वातावरणीय सन्तुलन, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई मुख्य आधार बनाइएको महानगरपालिकाले जनाएको छ ।







