विराटनगर । कोसी प्रदेश सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ। सरकारले यस विषयमा सरोकारवाला तथा सर्वसाधारणसँग औपचारिक सुझावसमेत माग गरेको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय र मातहतका कार्यालयहरूमा हप्ताको ६ दिन नै कार्यदिन कायम गर्ने विषयमा राय माग गरेका हुन्।
मुख्यमन्त्री कार्कीले सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने साविकको व्यवस्था व्यावहारिक नदेखिएको उल्लेख गर्दै शनिबार एक दिन मात्र बिदा कायम गर्दा कस्तो होला भनी जिज्ञासा राखेका छन्। हप्ताको पाँच दिन मात्र काम गर्दा कार्यदिन अपुग भएको र चर्चा गरिएजस्तो प्रशासनिक खर्च एवं इन्धन बचतमा कुनै ठोस उपलब्धि नदेखिएको उनको भनाइ छ।
‘सातामा दुई दिन बिदा दिने व्यवस्था व्यावहारिक देखिएन। यसले कार्यदिन घटाउनुका साथै इन्धन र खर्च बचतमा पनि ठोस योगदान पुर्याउन सकेको छैन,’ मुख्यमन्त्री कार्कीले भने।
यसअघि सङ्घीय सरकारको निर्णयलाई पछ्याउँदै कोसी प्रदेशमा पनि सरकारी सेवा र प्रशासनिक कामकारबाहीलाई व्यवस्थित गर्ने भन्दै आइतबारसमेत बिदा दिने अभ्यास सुरु गरिएको थियो।







