काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनाले बालेन (प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’)को पक्ष र सुकुम्वासीको विपक्षमा नभई आफ्नो मर्यादा राख्न सक्नुपर्ने बताएका छन्।
बुधबार नेकपा एमालेको संगठन विभागले आयोजना गरेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालालाई सम्बोधन गर्दै ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाउँदा सेना परिचालन भएको विषयमा असन्तुष्ट जनाउँदै सेनालाई आफ्नो मर्यादा राख्न आग्रह गरेका हुन्।
उनले सेना सबैको साझा भएको बताए। ‘सेना सबैको साझा हो। सबैको साझा हुनुपर्छ। बालेनको पक्षमा र सुकुम्वासीको विपक्षमा हुने होइन। सेनाले मर्यादा राखोस्। विवादमा नपरोस्’, ओलीले भने।
वैशाख १२ गते थापाथली सुकुम्वासी बस्ती खाली गराउँदा सेनाको उपस्थिति देखिएको थियो। यद्यपि सेनाले आफ्नो संलग्नताबारे अस्वीकार गर्दै आएको छ।







