काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । परिवारका सदस्य र पार्टीका नेताहरुलाई चिकित्सकले सुधार निरन्तर जारी रहे भोलि नै डिस्चार्ज हुने संभावना रहेको जानकारी दिएका छन् ।
उनलाई केही दिनदेखि ज्वरो आएको थियो । स्वास्थ्य परीक्षणका क्रममा ‘माइल्ड निमोनिया’ देखिएको भन्दै चिकित्सकले शनिवार भर्ना गरेका थिए ।
आज बिहान नेकपाका नेता माधव सापकोटा, रामप्रसाद सापकोटा लगायतका नेताले प्रचण्डलाई अस्पताल पुगेर भेटेका छन् ।
भेटपछि रामप्रसाद सापकोटाले प्रचण्डको तस्बिर राखेर फेसबुकमा लेखेका छन, स्वास्थ्य अबस्था सुधारोन्मुख छ, हल्का निमोनिया देखिएपछि अहिले उपचार चलिरहेको छ। भोलिसम्म हस्पिटलमै बसेर डिस्चार्ज हॅुदै हुनुहुन्छ । बाहिर आएका फोटाहरू एआई निर्मित र कतिपय पोस्टहरू अफवाहहरू हुन् । निमोनिया बाहेक अरू कुनै समस्या छैन, भ्रममा नपरौं १
प्रचण्ड यही जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा गएर फर्किएदेखि अस्वस्थ भएका थिए ।
अस्वस्थ भएको भन्दै प्रचण्ड जेठ १५ गते बजेट सार्वजनिक हुने दिन संघीय संसद बैठकमा पनि उपस्थित थिएनन् ।







