धनकुटा : धनकुटामा सञ्चालन भइरहेको १८औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको बुधबारको क्वार्टरफाइनल खेलमा मोरङको बेलबारी फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा पुगेको छ।
तल्लो टुँडिखेलमा सम्पन्न प्रतिस्पर्धामा बेलबारीले ललितपुरको सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो।
निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा बेलबारीका लागि निर्णायक गोल दोस्रो हाफको ३५औँ मिनेटमा बाबा टुन्डीले गरे। उनले गरेको एकमात्र गोल नै टोलीको जित सुनिश्चित गर्न पर्याप्त बन्यो।
खेलभर सातदोबाटोले आक्रामक प्रदर्शन गर्दै बेलबारीको पोस्टमा लगातार दबाब सिर्जना गरेको थियो। सातदोबाटोका खेलाडीले पटक–पटक गोल गर्ने अवसर बनाए पनि बेलबारीका गोलरक्षक अजय परियारले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई गोल खानबाट जोगाए।
खेल अन्त्यतिर सातदोबाटो बराबरी गोलको खोजीमा आक्रमणमा केन्द्रित भएका बेला बेलबारीले काउन्टर अट्याकको अवसर पाएको थियो। मध्यभागबाट आएको पासलाई सदुपयोग गर्दै बाबा टुन्डीले आकर्षक फिनिसिङमार्फत निर्णायक गोल गरेका हुन्।
उत्कृष्ट प्रदर्शन गरेका बेलबारीका खेलाडी बाबा टुन्डी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिताअन्तर्गत बिहीबार हुने पहिलो सेमिफाइनलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटा र सिराहाको सहलेस फुटबल क्लब आमनेसामने हुने आयोजकले जनाएको छ।







