काठमाडौं, जेठ १३ गते । बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच गरेका हुन् ।

आज दिउँसो १ बजे सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले जनाएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले खेलकुद क्षेत्रको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा प्रदेशस्तरीय खेल गतिविधिलाई प्रभावकारी बनाउने दिशामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले खेलमार्फत सातै प्रदेशलाई जोड्ने लक्ष्यसहित प्रदेश सरकारले विभिन्न तयारी अघि बढाएको जानकारी दिए । खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले खेल पूर्वाधार विकास र खेलाडी प्रोत्साहनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्री बानियाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गरी आगामी राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया