खोटाङ — कृषि ज्ञान केन्द्र खोटाङको आयोजनामा मंगलबार हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानमा बाली उपचार शिविर (प्लान्ट क्लिनिक) सफलतापूर्वक सञ्चालन गरिएको छ। कृषकहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा १०० भन्दा बढी कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

शिविरमा सहभागी कृषकहरूले आफ्ना बालीमा देखिएका विभिन्न रोग, कीरा तथा अन्य प्राविधिक समस्याहरूको पहिचान गराएका थिए। कृषि प्राविधिक तथा विज्ञ टोलीले प्रत्यक्ष रूपमा बाली परीक्षण गरी समस्याको कारण पत्ता लगाउनुका साथै उचित नियन्त्रण तथा व्यवस्थापनका उपायहरूबारे आवश्यक परामर्श प्रदान गरेका थिए।

कार्यक्रमले कृषकहरूलाई समयमै प्राविधिक ज्ञान र सेवा उपलब्ध गराउन सहयोग पुर्‍याएको छ। साथै, यस प्रकारका शिविरले बाली उत्पादन वृद्धि, रोग–कीरा नियन्त्रण तथा कृषकको आम्दानी सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया