काठमाडौं। मलेसिया जाने नेपाली कामदारबाट ‘बायोमेडिकल सिस्टम चार्ज’का नाममा उठाएको रकम विदेश पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७९ भदौ १७ गतेको एउटै मन्त्रीस्तरीय निर्णय बारम्बार प्रयोग गरेको देखिएको छ।

निर्णय भएको डेढ वर्षभन्दा बढी समय बितिसक्दा पनि मन्त्रालयले नयाँ निर्णयबिना नै त्यसैको सन्दर्भ दिएर नेपाल राष्ट्र बैंकलाई सटही सिफारिस पठाइरह्यो मन्त्रालयले राष्ट्र बैंकलाई लेखेका दुई पत्रमा देखिन्छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हालसम्मको अनुसन्धानमा चार वटा मन्त्रीस्तरीय निर्णय मात्र भेटिएको तर पैसा भने त्यसपछि पनि गइरहेको बताएको छ। २०७६ यता श्रममन्त्री बनेका गौरीशंकर चौधरी, विमलप्रसाद श्रीवास्तव, कृष्णकुमार श्रेष्ठ, डीपी अर्याल र शरदसिंह भण्डारीको पालामा कुनै मन्त्रीस्तरीय निर्णय नभेटिएको सीआईबीले जनाएको छ।

तर यी दुवै पत्र डीपी अर्याल श्रममन्त्री रहेकै बेला राष्ट्र बैंक पुगेका हुन्। मन्त्रीस्तरीय निर्णय नहुँदा पनि पैसा कसरी गइरह्यो भन्ने प्रश्नको उत्तर पुरानो निर्णयलाई निरन्तर आधार बनाएर सिफारिस गर्ने यही अभ्यासमा भेटिन्छ।

मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाबाट २०८० चैत २५ गते चलानी नम्बर २६३ को पत्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्गतको आयात शाखामा पठाइएको थियो। मलेसियाको रोजगारीमा जाने कामदारको बायोमेडिकल परीक्षणबापत लाग्ने शुल्क ‘मलेसिया सरकारबाट अनुमति प्राप्त कम्पनी’ बेस्टिनेट एसडीएन बीएचडीलाई भुक्तानी गर्न सटही सुविधा दिन पत्रमा सिफारिस गरिएको छ।

बेस्टिनेटको इनभ्वाइस नम्बर बीटी–०१६४०१ अनुसार १० हजार ५ सय ३७ कामदारबापत ९ लाख ४८ हजार ३ सय ३० रिंगेट र बीटी–०१६४०२ अनुसार १० हजार ९ सय १० कामदारबापत ९ लाख ८१ हजार ९ सय रिंगेट भुक्तानी गर्नुपर्ने पत्रमा उल्लेख छ। यसरी एउटै पत्रबाट २१ हजार ४ सय ४७ कामदारबापत १९ लाख ३० हजार २ सय ३० मलेसियन रिंगेट सटहीको सिफारिस भएको थियो।

२०८१ वैशाख ३१ गते मन्त्रालयले चलानी नम्बर २८२ को अर्को पत्र त्यही व्यहोरामा राष्ट्र बैंक पठायो।

दुवै पत्रमा कानुन अधिकृत उषा गौतमको हस्ताक्षर छ। मलेसिया पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय निर्णयको फाइल अनुसन्धानकर्ताले अझै भेटाएका छैनन्। स्वीकृतिका कागजातमा के लेखिएको थियो भन्ने यकिन गर्न सीआईबी अझै लागिरहेको छ। यस्तो अवस्थामा निर्णयलाई सन्दर्भका रूपमा उल्लेख गर्ने यस्ता चलानी पत्र अनुसन्धानका लागि महत्त्वपूर्ण प्रमाण बन्न सक्छन्।

यसपटक इनभ्वाइस नम्बर बीटी–०१६६७९ अनुसार १ हजार १ सय ५९ कामदारबापत १ लाख ४ हजार ३ सय १० रिंगेट र बीटी–०१६५०३ अनुसार १ हजार ८० कामदारबापत ९७ हजार २ सय रिंगेट गरी जम्मा २ लाख १ हजार ५ सय १० रिंगेट सटहीको सिफारिस गरिएको छ।

यो पत्र पठाएको नौ दिनपछि २०८१ जेठ ९ गते (मे २२, २०२४) बेस्टिनेटको खातामा अन्तिम पटक पैसा गएको सीआईबीको अनुसन्धानमा देखिएको छ। त्यसपछि ट्रान्सफर नदेखिए पनि अतिरिक्त शुल्क भने उठिरहेको बताइएको छ।

दुवै पत्र जोड्दा २३ हजार ६ सय ८६ कामदारबापत २१ लाख ३१ हजार ७ सय ४० रिंगेट मलेसिया पठाउन सिफारिस भएको देखिन्छ। तत्कालीन विनिमय दरमा यो रकम करिब ६ करोड नेपाली रुपैयाँ हुन आउँछ।

पत्रमा प्रतिकामदार शुल्क कति हो भनेर लेखिएको छैन। तर चारै इनभ्वाइसको रकमलाई सम्बन्धित कामदार संख्याले भाग गर्दा ठ्याक्कै ९० रिंगेट आउँछ। कामदारबाट प्रतिव्यक्ति १०० रिंगेट अतिरिक्त शुल्क उठाइएको थियो। पत्रमा ‘नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरी’ भुक्तानी गर्ने भनिएकाले १०० रिंगेटमा १० प्रतिशत कर काटेर बाँकी ९० रिंगेट बेस्टिनेटलाई पठाइएको संकेत मिल्छ।

त्यसो हो भने सरकार आफैंले कर काटेर यो शुल्कलाई वैध कारोबारको मान्यता दिएको देखिन्छ, जबकि यो शुल्क नेपाल–मलेसिया श्रम समझदारीमा नभएको र संयुक्त कार्यसमूहबाट कहिल्यै पारित नभएको भनिएको छ। मन्त्रालयले पत्रमा यो शुल्कलाई ‘मलेसिया सरकारले तोकेबमोजिमको’ भनेको छ। तर त्यसको आधार के हो भन्ने कुनै सन्दर्भ दिएको छैन।

काठमाडौंस्थित मलेसियाली दूतावासले २०२० जुन १६ मा राष्ट्र बैंकलाई पत्र लेखेर रकम मलेसिया पठाउन अनुरोध गरेको थियो। सीआईबीको प्रारम्भिक अनुसन्धानले यो पत्र कूटनीतिक मर्यादाभन्दा बाहिर गएको र स्वीकृतिहरू त्यसैका आधारमा दिइएको जनाएको छ।

दुवै पत्रमा सिफारिसको आधारका रूपमा ‘यस मन्त्रालयको मिति २०७९।०५।१७ को निर्णय’ उल्लेख छ। शेरबहादुर कुँवर २०७९ असार १३ देखि पुस ११ सम्म श्रममन्त्री थिए र त्यसबेला श्रम सचिव एकनारायण अर्याल थिए। यसअनुसार भदौ १७ को निर्णय कुँवरकै कार्यकालमा भएको हो। तर उनी मन्त्रीबाट बाहिरिएको सवा वर्षपछि पनि त्यही निर्णयको भरमा सिफारिस भइरह्यो।

यस अवधिमा मन्त्री फेरिए, सचिव फेरिए, आर्थिक वर्ष पनि फेरियो, तर सिफारिसको आधार बनेको निर्णय उही रह्यो। संयोग के छ भने सबैभन्दा ठूलो रकम, २८ करोड ३० लाख रुपैयाँ, २०२२ डिसेम्बर २६ अर्थात् २०७९ पुस ११ गते पठाइएको थियो। त्यही दिन कुँवरको श्रममन्त्रीको कार्यकाल सकिएको थियो।

दुवै पत्रमा मन्त्रालयले एउटा शर्त पनि राखेको छ। विदेशी मुद्रा अपचलनसम्बन्धमा प्रचलित कानुनबमोजिम सम्बन्धित संस्था म्याक्रोटेक प्रालि स्वयं जिम्मेवार हुने शर्तसहित सिफारिस गरिएको हो। रकम पठाउने प्रक्रियामा जोखिम छ भन्ने मन्त्रालयलाई थाहा थियो भन्ने यो शर्तले देखाउँछ। तर मन्त्रालयले जोखिम छानबिन गर्नुको सट्टा जिम्मेवारी कम्पनीमाथि थुपारेर सिफारिस अघि बढायो।

पत्रको बोधार्थ महाराजगञ्ज–३, नबिल गल्लीस्थित म्याक्रोटेक प्रालिलाई दिइएको छ। कैलाश खड्काको म्याक्रोटेकले नेपालमा पैसा उठाएको र बढी उठेको रकम मलेसियाको बेस्टिनेटमा पठाइएको सीआईबीको अनुसन्धानमा देखिएको छ।

पत्रमा कामदार संख्या र रकमको आधार बेस्टिनेटले आफैं जारी गरेका इनभ्वाइस मात्र हुन्। ती कामदारको स्वास्थ्य परीक्षण कुन अवधिमा र कुन संस्थाबाट भयो, अनि संख्या कसले कसरी रुजु गर्‍यो भन्ने कुरा पत्रमा कतै उल्लेख छैन। चैतमा बीटी–०१६४०१ र ०१६४०२ नम्बरका इनभ्वाइस थिए भने वैशाखसम्म आइपुग्दा ०१६५०३ र ०१६६७९ नम्बर पुगिसकेका थिए।

पाँच साताकै बीचमा बेस्टिनेटको इनभ्वाइस नम्बर करिब पौने तीन सय अघि बढेको देखिन्छ, तर ती सबै नेपालसँग सम्बन्धित थिए कि अन्य देशसँग पनि भन्ने खुलेको छैन। राष्ट्र बैंकले कागजात रुजु नगरी ठूलो रकम स्वीकृत गरेको एक अनुसन्धान अधिकारीले बताएका छन् र उनले यसलाई विदेशी मुद्रा अपचलनसँग जोडेका छन्।

दुवै पत्रमा कानुन अधिकृत उषा गौतमको हस्ताक्षर छ। मलेसिया पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय निर्णयको फाइल अनुसन्धानकर्ताले अझै भेटाएका छैनन्। स्वीकृतिका कागजातमा के लेखिएको थियो भन्ने यकिन गर्न सीआईबी अझै लागिरहेको छ। यस्तो अवस्थामा निर्णयलाई सन्दर्भका रूपमा उल्लेख गर्ने यस्ता चलानी पत्र अनुसन्धानका लागि महत्त्वपूर्ण प्रमाण बन्न सक्छन्।

सीआईबीको अनुसन्धानमा २०७६ यता ७ लाख ५० हजार ९ सय ८८ कामदार ठगिएको र ठगिएको रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाइएको देखिएको छ। राष्ट्र बैंकमा १६ पटक निवेदन दिएर १७ पटक टेलिग्राफिक ट्रान्सफरमार्फत रकम पठाइएको थियो।

राष्ट्र बैंकको स्वीकृतिपछि लक्ष्मी सनराइज बैंकको खाताबाट मलेसियाको मेब्यांक बरहादमा रहेको बेस्टिनेटको खातामा पैसा गएको थियो। यस प्रकरणमा पूर्वमन्त्रीद्वय कुँवर र रामेश्वर राय यादवसहित १० जना सीआईबी हिरासतमा छन्।

हिरासतमा पूर्वश्रमसचिव विनोद केसी, वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका पूर्वप्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा पूर्वकानुन अधिकृत निर्मला गुरुङ पनि छन्। पूर्वसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार रहेको बताइएको छ। यसअघि नै कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामफुकार तिवारी पक्राउ परेका थिए। मुद्दाको अनुसन्धान ठगी तथा संगठित अपराध निवारण ऐनअन्तर्गत भइरहेको छ।

तपाईको प्रतिक्रिया